सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :फ्रेन्च जायन्ट पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फिफा क्लब विश्वकप २०२५ को फाइनलमा स्थान सुरक्षित गरेको छ।
न्यु जर्सीको मेटलाइफ स्टेडियममा बुधबार राति भएको सेमिफाइनलमा स्पेनिस पावरहाउस रियल मड्रिडलाई ४-० ले हराउँदै पीएसजी उपाधिनजिक पुगेको हो।
पीएसजीको प्रभावशाली जितमा फाबियन रुइजले दुई गोल गर्दा, उस्माने डेम्बेले र गोनकालो रामोसले एक–एक गोल थपे। खेलको छैटौँ मिनेटमै फाबियनले सुरुवाती अग्रता दिलाए। रियलका डिफेन्डर राउल एसेन्सियोको त्रुटिलाई सदुपयोग गर्दै उनले डेम्बेलेको पासमा गोल गरेका थिए।
केवल तीन मिनेटपछि डेम्बेलेले रियलका अर्का डिफेन्डर एन्टोनियो रुडिगरको गल्तीको फाइदा उठाउँदै दोस्रो गोल गरे। त्यसपछि खेलको २४औँ मिनेटमा फाबियनले अचराफ हाकिमीको उत्कृष्ट पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल थपे।
पहिलो हाफमा ३-० को बढत लिएको पीएसजीले खेलको अन्तिम समयतिर थप एक गोल गर्यो। ८८औँ मिनेटमा गोनकालो रामोसले गोल गर्दै अन्तिम नतिजा ४-० बनाए।
अब पीएसजीले आइतबार मेटलाइफ रंगशालामै इंग्लिस क्लब चेल्सीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल विश्वभरका फुटबलप्रेमीका लागि बहुप्रतिक्षित भिडन्त हुने अपेक्षा गरिएको छ।