सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेदरल्याण्ड्समा जारी युरोप क्षेत्रीय फाइनल टी–२० प्रतियोगितामा इटालीले नयाँ सम्भावनाको ढोका खोलेको छ। बुधबार भएको रोमाञ्चक खेलमा स्कटल्याण्डलाई १२ रनले पराजित गर्दै इटालीले पहिलोपटक टी–२० विश्वकपमा स्थान सुरक्षित गर्ने सम्भावना बलियो बनाएको हो।
भूर्बर्ग मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको इटालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो। जवाफमा, स्कटल्याण्डका लागि जर्ज मन्सीले ७२ रनको धमाकेदार पारी खेले पनि ह्यारी मानेन्तीको जादुई बलिङ अगाडि टिक्न सकेनन्। मानेन्तीले ५ विकेट लिँदा स्कटल्याण्डको पारी १५५ रनमै समेटियो।
यो जितपछि इटाली पाँच टोली सहभागी समूहको शीर्ष स्थानमा उक्लिएको छ। जर्सी दोस्रो र स्कटल्याण्ड तेस्रो स्थानमा छन्। आयोजक नेदरल्याण्ड्स भने चौथो स्थानमा छ, तर उसले एक खेल कम खेलेको छ।
टी–२० विश्व वरीयतामा ३२औं स्थानमा रहेको इटालीले २०१९ मा पहिलोपटक छनोट खेल खेलेको थियो। तर त्यसयता सधैं तेस्रो स्थानमै सन्तोष मान्नुपरेको थियो। अब भने उनीहरू इतिहास बनाउने संघारमा छन्।
इटालीले शुक्रबार अन्तिम खेलमा समूहको बलियो टिम नेदरल्याण्ड्स (१५औं स्थान) सँग भिड्नेछ। सो खेल इटालीको विश्वकप यात्रा तय गर्ने निर्णायक बन्न सक्छ।