सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं : नेपाल महिला फुटबल टोलीमा देखिएको कप्तानी विवादको जरो नेपालमै रोपिएको रहेछ। अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा कार्यकारी सदस्य सरिला श्रेष्ठले उक्त विवादको पृष्ठभूमि सार्वजनिक गरेकी हुन्।
श्रेष्ठका अनुसार टोली उज्बेकिस्तान प्रस्थान गर्नु अघि नै कप्तान चयनको प्रस्ताव गरिएको थियो, तर मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले त्यसलाई अस्वीकार गर्दै विदेशमै निर्णय लिइने बताएका थिए। “हामीले यतै कप्तान तोकेर जानुपर्छ भनेका थियौं, तर उहाँले उतै गएर टुंग्याउँछु भन्नुभयो,” श्रेष्ठले भनिन्।
तर, उज्बेकिस्तान पुगेपछि पनि प्रशिक्षक वाइल्डले कप्तानबारे स्पष्ट निर्णय नगरेको श्रेष्ठको दाबी छ। “खेल सुरु हुनुभन्दा ९० मिनेटअघि टिम लिस्ट बुझाउनुपर्छ, तर त्यसबेलासम्म पनि उहाँले कप्तान को हो भनेर भन्नुभएन,” उनले भनिन्, “उहाँले हामीले नाम बाहिर दिने डरले भन्न सक्दिनँ भन्नुभयो।”
श्रेष्ठका अनुसार प्रशिक्षकले खेल सुरु हुनुभन्दा पाँच मिनेट अघिमात्रै टोलीको सूची बुझाएका थिए, त्यो पनि भिडियोमार्फत् मात्र देखाइएको थियो। तर भिडियोमा कप्तान को हो भन्ने उल्लेख थिएन। “हामीले मैदानमा जाने बेलासमेत सोध्यौं, उहाँले जवाफ दिनुभएन,” उनले भनिन्।
कन्फ्युजनको बीचमा, सिनियर खेलाडी रेनुका नगरकोटीलाई कप्तान बनाएर एएफसीलाई टिम लिस्ट पठाइएको श्रेष्ठले जानकारी दिइन्। तर, जब रेनुकालाई आर्मब्यान्ड लगाइँदै थियो, प्रशिक्षक वाइल्डले रोक्दै साम्बा कोसीलाई कप्तान भएको जानकारी गराएका थिए।
“हामीलाई सावित्रा (साम्बा) कप्तान बनेकोमा कुनै समस्या थिएन, तर यो कुरा नेपालमै हुँदा भन्न सकिन्थ्यो,” श्रेष्ठले भनिन्, “तर उहाँले किन यस्तो गर्नुभयो भन्ने कुरा बुझ्न सकिएको छैन।”
उक्त परिस्थितिमा टिम लिस्टमा फरक कप्तान देखिएको कारण कारबाहीको डर व्यक्त गर्दा प्रशिक्षक उल्टै आक्रोशित भएको श्रेष्ठले बताइन्। “म्याच कमिस्नरले पनि यसबारे धेरै प्रश्न उठाउँदा पनि उहाँले कसैको कुरा सुन्नुभएन,” श्रेष्ठको भनाइ थियो।
यो घटनाले महिला टोलीको नेतृत्व व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ। प्रशिक्षक र संघबीच समन्वयको अभावले मैदानभित्र र बाहिर दुवै ठाउँमा असमझदारीको स्थिति सिर्जना गरेको देखिन्छ।