Dosa Dosa

बंगलादेशविरुद्दको एकदिवसीय सिरिज श्रीलंकाको कब्जामा

बुधबार, असार २५, २०८२

काठमाडौँ :पल्लेकेलमा मंगलबार सम्पन्न तेस्रो एकदिवसीय क्रिकेट खेलमा श्रीलंकाले बंगलादेशलाई ९९ रनले पराजित गरेको छ। यो जितसँगै तीन खेलको श्रृंखला श्रीलंकाले २–१ ले आफ्नो पक्षमा पार्‍यो।

खेलमा श्रीलंकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो, जुन सफल रह्यो। कप्तान कुसल मेंडिसको शतकको मद्दतले श्रीलंकाले ५० ओभरमा ६ विकेट गुमाउँदै २८५ रन बनायो। मेंडिसले ११४ बलमा १८ चौकासहित १२४ रन जोडे। अर्का ब्याट्सम्यान चरिथ असलंका पनि प्रभावशाली रहे, जसले ५८ रनको योगदान दिए। ओपनर पाथुम निसंकाले ३५ रन बनाए भने निसान मधुशंका १ रनमै आउट भए।

२८६ रनको लक्ष्य पछ्याउन आएको बंगलादेश ३९ ओभरमै १८६ रनमा अलआउट भयो। बंगलादेशका तौहिद हृदयले सर्वाधिक ५१ रन बनाए। ओपनर इनामुल हकले २८ र तन्जिद हसनले १७ रन जोडे। बाँकी ब्याट्सम्यान खासै चल्न सकेनन्। श्रीलंकाका असिथा फर्नान्डो, दुष्मन्थ चमीरा र वनिन्दु हसरङ्गाले समान ३/३ विकेट लिए।

कुसल मेंडिसलाई उत्कृष्ट शतकका लागि प्लेयर अफ द म्याच घोषित गरियो। उनले श्रृंखलाभर ७५ को औसतमा २२५ रन बनाएका कारण प्लेयर अफ द सिरिज पनि बने।

अब दुबै टोलीबीच टी–२० श्रृंखला सुरु हुने छ, जसको पहिलो खेल जुलाई १०, दोस्रो १३ र तेस्रो १६ तारिखमा खेलिने छ।

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  ०७:०५
प्रतिक्रिया दिनुहोस्