सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा अनियमितता भएको आशंकामा सरकारी छानबिन जारी रहेका बेला कार्यदलले दोस्रो संस्करणको तयारी तत्काल रोक्न निर्देशन दिएको छ।
युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको छानबिन कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) लाई पठाएको पत्रमा भनिएको छ, “छानबिन नसकिएसम्म एनपीएलसम्बन्धी कुनै कार्य नगर्नू/नगराउनू।”
कार्यदलका संयोजक रञ्जना प्रधानका अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीसम्बन्धी कागजातहरूबारे स्पष्ट जवाफ मागिएको छ। यसअघि क्यानले झारा टार्ने शैलीमा मात्र उत्तर दिएको भन्दै कार्यदलले थप स्पष्टता मागेको हो।
यता, क्यानले भने आवश्यक सबै कागजात पठाइसकेको दाबी गर्दै दोस्रो संस्करणको तयारी अगाडि बढाइरहेको छ। फ्रेन्चाइज टिमहरूले खेलाडी रिटेन र रिलिज प्रक्रिया पूरा गरिसकेका छन् भने क्यान अहिले मिनि अक्सनको तयारीमा जुटिरहेको छ।
क्यानले लिग नियमित समयमै — मंसिर वा पुस महिनामा — आयोजना गर्ने तयारी गरिरहेको जनाएको छ, यद्यपि छानबिनको निष्कर्ष आउन बाँकी छ।