hERO hERO

सूर्यवंशीको ऐतिहासिक शतकले भारत विजयी

आइतबार, असार २२, २०८२

काठमाडौं :वैभव सूर्यवंशीको विस्फोटक शतकसँगै भारतीय यु–१९ टोलीले इंग्ल्यान्डविरुद्धको पाँच एकदिवसीय खेलको शृङ्खला आफ्नो पक्षमा पारेको छ।

शनिबार भएको चौथो खेलमा भारतले ५५ रनको जित निकाल्दै शृङ्खलामा ३–१ को अपराजित अग्रता बनाएको हो।

पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३६३ रनको विशाल योगफल खडा गर्‍यो। सूर्यवंशीले मात्र ७८ बलमा १४३ रनको आतिशी पारी खेले, जसमा १३ चौका र १० छक्का समावेश थिए। उनले बिहान मलहोत्रासँग दोस्रो विकेटका लागि २१९ रनको कीर्तिमानी साझेदारी गरे।

सूर्यवंशीले ५२ बलमा शतक पुरा गर्दै भारतका लागि यु-१९ एकदिवसीय क्रिकेट इतिहासमै सबैभन्दा छिटो शतक बनाएका छन्। मलहोत्राले पनि १२१ बलमा १५ चौका र ३ छक्का सहित १२९ रन जोडे।

तर सूर्यवंशी आउट भएपछि भारतको पारी केही थामियो। २८औं ओभरको पहिलो बलमा आउट भएका उनीपछिका ११ बलभित्र भारतले तीन विकेट मात्र एक रनमा गुमाएको थियो। इङ्गल्यान्डका ज्याक होमले ४ विकेट लिँदा सेवास्टिन मोर्गनले ३ विकेट झारे।

जवाफमा ३६४ रनको कठिन लक्ष्य पछ्याएको इङ्गल्यान्ड ४५.३ ओभरमा ३०८ रनमै समेटियो। रोकी फ्लिन्टिफले ९१ बलमा ७ चौका र ४ छक्कासहित १०७ रन बनाए भने जोसेफ मुरले ४१ बलमा ५२ रनको योगदान दिए। भारतका नमन पुष्पकले ३ विकेट लिएर इंग्ल्यान्डको चुनौती चकनाचुर पारे।

यो जितसँगै भारतले शृङ्खला आफ्नो पक्षमा पारेको छ, बाँकी एक खेल अब केवल औपचारिकता बन्न पुगेको छ।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  ०७:२८
प्रतिक्रिया दिनुहोस्