Dosa Dosa

नेपालले जित्यो इस्ट जोन कप क्रिकेटको उपाधि 

शनिबार, असार २१, २०८२

काठमाडौँ :एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

आज भएको फाइनलमा सिंगापुरलाई दुई विकेटले हराउँदै नेपालले दोस्रो पटक उपाधि जितेको हो । जितकालागि सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा जोय थापाले अविजित रहँदै सर्वाधिक २४ रनको योगदान गरे । सिवांश बजगाइले २० ,शुभम खनालले १८ तथा प्रशिद्द जैशीले १७ रन जोडे । परिमार्जन यादवले १३ तथा अभय यादवले १० रन जोडे ।

त्यसअघि मलेसियाको एसडी युकेएम ओभल, बांगीमा टस जितेर पहिले ब्याटिङ थालेको सिंगापुर ४०.५ ओभरमा ११३ रनमा अलआउट भयो । उसकालागि रोहन अस्टिन अरुणले सर्वाधिक २३ रनको योगदान गरे । कप्तान  रियान नाइकले १५ ,वेदांश गुप्ताले १२ तथा आकाश तेजाले १० रन बनाए ।  आरभ अग्रवाल  र युवान पाण्डेले समान ९–९ रन जोडे ।

सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ नेपालका शुसिल बहादुर रावल र अभय यादवले समान ३ विकेट लिए ।

शुभम खनालले २ तथा बिपीन शर्माले १ विकेट हात पारे । 

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  १२:५९
प्रतिक्रिया दिनुहोस्