Dosa Dosa

एक्लै मैदान छिरेर जडेजाले गरे कमाल, बीसीसीआई मूकदर्शक?

शनिबार, असार २१, २०८२

काठमाडौँ : इङ्ल्यान्डविरुद्ध बर्मिङ्घम टेस्टको तेस्रो दिन भारतीय अलराउन्डर रविन्द्र जडेजाले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को नियम उल्लंघन गर्दै बिहानै एक्लै अभ्यासका लागि मैदान पुगे।

बीसीसीआईले अष्ट्रेलिया भ्रमणपछि नयाँ नियम लागू गर्दै खेलाडीहरूले टिम बसबाहेक व्यक्तिगत रूपमा स्टेडियम आउन नपाउने निर्देशन दिएको थियो। तर जडेजाले उक्त नियमलाई बेवास्ता गर्दै तेस्रो दिनको खेल सुरु हुनुअघि नै एजबास्टन रंगशालामा पुगेर स्थानीय बलरहरूसँग झन्डै ४० मिनेटसम्म नेट्स अभ्यास गरे।

लिड्समा भएको अघिल्लो टेस्टमा उनको कमजोर प्रदर्शन (११ र २५ रन) र टोलीको हारपछि जडेजाको टिममा स्थानसमेत प्रश्नमा थियो। टप अर्डरले राम्रो खेले पनि तल्लो क्रममा रहेका ब्याट्सम्यानहरूको लचर प्रदर्शन भारतीय पराजयको एक प्रमुख कारण बन्यो।

यही पृष्ठभूमिमा, बर्मिङ्घम टेस्टको पहिलो इनिङमा ४१ रनमा अविजित रहेका जडेजाले आफ्नो प्रदर्शन सुधार्न तेस्रो दिन बिहान एक्लै अभ्यास गर्ने निर्णय लिएका थिए।

र, त्यो निर्णय सफल पनि भयो। भारत ५ विकेटमा २११ रनको संकटमा पर्दा जडेजा ब्याटिङ गर्न आए। विकेटकिपर ऋषभ पन्तसँग मिलेर उनले छैटौं विकेटका लागि २०३ रनको साझेदारी गर्दै भारतलाई बलियो अवस्थामा पु-याए।

जडेजाले ८९ रनको मूल्यवान योगदान दिए। संयोगले, यसअघि सन् २०२२ मा पनि उनले एजबास्टनमै शतक बनाएका थिए र पन्तसँग २२२ रनको साझेदारी गरेका थिए।

हालसम्म बीसीसीआईले नियम उल्लंघनको विषयमा कुनै औपचारिक कारबाही घोषणा गरेको छैन। जडेजाको नियमनभित्रको उल्लंघनले अनुशासनको प्रश्न उठाए पनि उनको लगनशीलता र टोलीलाई संकटबाट उकास्ने योगदानले धेरैको ध्यान खिचेको छ।

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  ०९:१६
प्रतिक्रिया दिनुहोस्