सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :बंगलादेशले यही महिना हुने श्रीलंकाविरुद्धको तीन टी–२० अन्तर्राष्ट्रिय खेलको सिरिजका लागि टिम घोषणा गरेको छ। टिममा पाँच परिवर्तन गरिएका छन् भने पूर्व कप्तान नजमुल हुसैन शान्तोलाई टिमबाट बाहिर राखिएको छ।
शान्तो मे महिनामा युएई र पाकिस्तानविरुद्धको सिरिजमा टिममा भए पनि ६ मध्ये मात्र एक खेलमा खेलेका थिए। उनले सन् २०२४ मा २१ टी–२० खेलमा केवल १८.८४ को औसतमा रन बनाएका थिए, जसमा एक अर्धशतक मात्रै थियो। २०२३ मा भने उनले १० इनिङमा ३१.१४ को औसत र ११९.७८ को स्ट्राइकरेटसहित २१८ रन बनाएका थिए। जनवरीमा कप्तानीबाट राजीनामा दिएका शान्तो अब पूर्ण रूपमा टोलीबाहिर परेका छन्।
शान्तोको स्थानमा बायाँहाते ओपनर मोहम्मद नाइमलाई टिममा फर्काइएको छ। उनले ३५ टी–२० खेल खेलिसकेका छन् र सन् २०२४–२५ को घरेलु सिजनमा उत्कृष्ट लयमा फर्किएका छन्। उनले बंगलादेश प्रिमियर लिग (विपिएल ) र नेशनल क्रिकेट लिग (एनसीएल) दुबैमा सर्वाधिक रन बनाएका थिए– ८२७ रन, ३७.५९ को औसत र १४०.४० को स्ट्राइक रेटसहित, जसमा १ शतक र ६ अर्धशतक पनि थियो।
घाइते भएर बाहिर रहेका तीव्र गतिका बलर टास्किन अहमद र मुस्ताफिजुर रहमान पनि निको भएर टिममा फर्किएका छन्। उनीहरू हालै श्रीलंकाविरुद्धको पहिलो एकदिवसीय खेलमा खेलेका थिए। त्यसैगरी, करिब एक वर्षपछि फास्ट बलर मोहम्मद सैफुद्दिनले पनि टिममा पुनरागमन गरेका छन्। उनले बिपिएल र डिपिएलमा गरी ३७ विकेट लिएका थिए।
मे महिनामा पाकिस्तानविरुद्धको दोस्रो टी–२० खेलमा ग्रोइन इन्जुरी भएका शोरीफुल इस्लाम भने टिममा कायम छन्। स्पिन विभागमा पनि एक फेरबदल गरिएको छ– तनवीर इस्लामको सट्टा नासुम अहमद टिममा आएका छन्। यसले बंगलादेशले बायाँहाते स्पिनरको छनोटमा अझै स्पष्ट निर्णय गर्न नसकेको देखिन्छ।
तीन टी–२० खेलहरू क्रमशः जुलाई १० (पालेकेले), जुलाई १३ (डाम्बुला) र जुलाई १६ (कोलम्बो) मा हुनेछन्।
बंगलादेश टी–२० टिम: लिटन दास (कप्तान, विकेटकिपर), तन्जिद हसन, परवेज हुसैन एमोन, मोहम्मद नाइम, तौहीद हृदॉय, जाकेर अली, शमीम हुसैन, मेहदी हसन मिराज, रिशाद हुसैन, महेदी हसन, नासुम अहमद, टास्किन अहमद, मुस्ताफिजुर रहमान, शोरीफुल इस्लाम, तन्जिम हसन साकिब, मोहम्मद सैफुद्दिन।
टिममा भित्रिएका: मोहम्मद नाइम, नासुम अहमद, टास्किन अहमद, मुस्ताफिजुर रहमान, मोहम्मद सैफुद्दिन।