सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : नेपाली खेलकुदका लागि भोलिको शनिबार ‘दुबै हातमा लड्डु’ सावित हुनसक्छ। एउटै दिन, दुई ठूला अन्तर्राष्ट्रिय फाइनल खेलहरूमा नेपालको सशक्त उपस्थिति — जुन केवल संयोग होइन, संघर्ष र समर्पणको फल हो।
शनिबार बिहान मलेसियामा नेपालका यू–१६ क्रिकेट टोलीले एसिसी इस्ट जोन कपको उपाधिका लागि सिंगापुरसँग भिड्दैछ भने, त्यसपछि राति उज्बेकिस्तानको रंगशालामा नेपाली महिला फुटबल टोलीले एएफसी एसियन कप छनोटको अन्तिम निर्णायक खेलमा आयोजक उज्बेकिस्तानसँग आमनेसामने हुनेछ।
क्रिकेट: लयमा नेपाल, लक्ष्य चौंथो उपाधि नेपालको १६ वर्ष मुनिको टोली शनिबार बिहान ७:४५ बजे सिंगापुरसँग उपाधि भिडन्त गर्दैछ। प्रतियोगितामा अपराजित यात्रा तय गरिरहेको नेपालले समूह चरणमा सिंगापुर, जापान, इन्डोनेसिया र भुटानविरुद्ध एकतर्फी जित निकालेको थियो।
सेमिफाइनलमा आयोजक मलेसियालाई ९ विकेटले पराजित गर्दै फाइनलको टिकट काटेको नेपाल अहिले चौथोपटक उपाधि जित्ने योजनामा छ। सिंगापुर भने पहिलो उपाधिको खोजीमा छ, तर उच्च मनोबलमा रहेको नेपाललाई हराउनु उसको लागि सजिलो हुने देखिँदैन।
फुटबल: २५ वर्षपछि फेरि एएफसी पुग्ने मौका शनिबार राति सवा ९ बजे, उज्बेकिस्तानको बुन्योदकोर रंगशालामा हुने खेल नेपालको फुटबल इतिहासकै एक निर्णायक मोड हुन सक्छ। नेपाली महिला टोलीले एएफसी एसियन कप छनोटको अन्तिम खेलमा आयोजक उज्बेकिस्तानसँग भिड्दैछ।
नेपालले यसअघि सन् १९९९ मा मात्र एसियन कप खेलेको थियो। २५ वर्षपछि पुनः त्यो यात्रामा पुग्ने ऐतिहासिक अवसर छ। समूह चरणमा नेपालले लाओसलाई ९–० र श्रीलंकालाई ८–० ले हराउँदै सानदार प्रदर्शन गरेको छ।
उज्बेकिस्तान पनि अपराजित रहँदै उत्कृष्ट लयमा छ। दुवै टोलीको अंक, गोलअन्तर र क्लिनसिट समान भएकाले शनिबारको खेल बराबरी भएमा नतिजा पेनाल्टी सुटआउटबाट तय हुनेछ।
यद्यपि, विगतमा उज्बेकिस्तानसँग नेपालले तीन पटक खेल्दा हार व्यहोरेको छ। फिफा वरियतामा उज्बेकिस्तान ५१औँ स्थानमा छ। तथापि, पछिल्ला दुई खेलमा देखिएको नेपालकै आत्मबल, टिम स्पिरिट र आक्रामक शैलीले समर्थकमा आशाको झिनो उज्यालो देखिएको छ।
एउटै दिन, दुई उपाधि! नेपाली खेलकुदमा नयाँ युग? शनिबार बिहान क्रिकेट मैदानमा र राति फुटबल मैदानमा नेपालको भविष्य लेखिँदैछ। यदि दुबै टोली विजयी भए — त्यो दिन नेपाली खेलकुदको इतिहासमा सुनौलो अक्षरमा लेखिनेछ।
नेपाल दुबै खेलमा उपाधि जित्न नजिक छ — र हामी सबैको नजर अब एउटै प्रश्नमा केन्द्रित छ — "नेपालले दुबै हातमा लड्डु राख्ला त?"