सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:भारतीय महिला क्रिकेट टिम र इंग्ल्याण्ड महिला टिमबीच आज तेस्रो टी–२० अन्तर्राष्ट्रिय खेल हुँदैछ।
लन्डनस्थित द ओवल मैदानमा हुने खेल भारतीय समयअनुसार राति ११:०५ बजे सुरु हुनेछ।
पाँच खेलको यो टी–२० सिरिजमा भारतले सुरुवाती दुई खेल जितिसकेको छ। आजको खेल जित्न सकेमा भारतीय टोलीले इतिहास रच्नेछ, किनभने दुई वा बढी खेलको टी–२० सिरिजमा इंग्ल्याण्डविरुद्ध यो पहिलो जित हुनेछ।
सिरिजको पहिलो खेल २९ जुनमा भएको थियो। उक्त खेलमा कप्तान हरमनप्रीत कौर घाइते भएकाले स्मृति मन्धनाले टिमको कमान सम्हालेकी थिइन्। उनले ६२ बलमा ११२ रनको विस्फोटक पारी खेल्दै भारतलाई २१० रनसम्म पुर्याइन्। जवाफमा इंग्ल्याण्ड ११३ रनमै समेटिँदै भारतले ९७ रनको फराकिलो जित दर्ता गर्यो।
दोस्रो खेलमा कप्तान हरमनप्रीतको पुनः आगमन भयो। भारतका लागि जेमिमा रोड्रिग्ज र अमनजोत कौरले समान ६३ रनको योगदान दिंदै टिमलाई १८१ रनको सम्मानजनक स्कोरमा पुर्याए। इंग्ल्याण्डले राम्रो प्रयास गरे पनि १५७ रनमै समेटियो र भारतले २४ रनको जित निकालेको थियो।
यसअघि सन् २००६ मा मात्र भारतले इंग्ल्याण्डविरुद्ध एकपटकको टी–२० खेल जितेको थियो। तर, त्यसयता भएको कुनै पनि सिरिजमा भारत विजयी हुन सकेको थिएन। पछिल्लो १८ वर्षमा भारत र इंग्ल्याण्डबीच ६ वटा टी–२० सिरिज भएका छन्, तीन भारतमा र तीन इंग्ल्याण्डमै। तर सबैमा इंग्ल्याण्डले नै सिरिज जितेको छ।
अब भारतले आजको खेल जिते १८ वर्षपछि इंग्ल्याण्डविरुद्ध टी–२० सिरिज जित्ने पहिलो अवसर पाउनेछ। कप्तान हरमनप्रीत कौरको नेतृत्वमा रहेको भारतीय टिम अहिले उत्कृष्ट लयमा देखिएको छ।
भारत र इंग्ल्याण्डबीच अहिलेसम्म ३२ वटा टी–२० खेल भएका छन्। तीमध्ये भारतले १० खेल जितेको छ भने इंग्ल्याण्डले २२ खेलमा जीत दर्ता गरेको छ।
आजको खेलको प्रत्यक्ष प्रसारण सोनी स्पोर्ट्स नेटवर्कमा हुनेछ भने डिजिटल स्ट्रिमिङ सोनी लिभ एपमा हेर्न सकिनेछ।