सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :कोलम्बोमा बुधबार भएको पहिलो एकदिवशीय खेलमा बंगलादेश श्रीलंकासँग ७७ रनले पराजित भएको छ।
२४५ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले एक समय १००र१ को राम्रो स्थिति बनाएको थियो। तर त्यसपछि २६ बलमा जम्मा ५ रनको अन्तरालमा ७ विकेट गुमाउँदै टोली १६७ रनमै अलआउट भयो।
यस हारलाई बंगलादेशका लागि निकै लाजमर्दो मानिएको छ।
खेलमा श्रीलंकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो। सुरुवाती झट्का खेप्दै २९र३ को अवस्थामा पुगेको श्रीलंकालाई कप्तान चरित असलंकाले सम्हाले। उनले संयमित पारी खेल्दै आफ्नो पाँचौँ वानडे शतक पूरा गरे। कुसल मेंडिसले पनि ४५ रनको योगदान दिए। श्रीलंकाले निर्धारित ५० ओभरमा २४४ रन बनायो।
बंगलादेशका लागि तस्किन अहमदले ४ विकेट लिए।
लक्ष्य पछ्याउने क्रममा बंगलादेशका लागि तन्जिद हसनले ६२ रन बनाए। उनले नजमुल हुसैन सान्तोसँग ७१ रनको साझेदारी गरे। तर सान्तो २३ रनमा रन आउट भएपछि टोली धराशायी भयो।
मध्यक्रम पूरै फ्लप रह्यो—लिटन दास र मेहदी हसन मिराज दुवै शून्यमा आउट भए। जाकिर अलीले केही प्रयास गर्दै ५१ रन बनाए तर टोली १६७ रनमै समेटियो।
श्रीलंकाका लागि वानिन्दु हसरंगाले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए।
हारपछि बंगलादेशका कप्तान मेहदी हसन मिराजले टोलीको कमजोरी स्वीकार गरे। उनले भने, “हामीले राम्रो सुरुआत गरेका थियौं, तर रन आउटले खेल मोडिदियो। मध्यक्रमले दबाब थेग्न सकेन। हामीलाई साझेदारी आवश्यक थियो। हार दुखद छ, तर हामी यसभन्दा राम्रो खेल खेल्न सक्छौं। हामी दुई दिनभित्र पुनः फर्किनेछौं।”