एसीसी यु-१६ इस्टजाेन कप

फाइनल पुग्न नेपाल मलेसियासंग खेल्दै

बिहीबार, असार १९, २०८२

काठमाडौं :एसिसी यु–१६ इस्ट जोन क्रिकेट कपको सेमिफाइनलमा साविक विजेता नेपाल आज आयोजक मलेसियासँग भिड्दैछ। सेलाङ्गोर ट्रफ क्लबको मैदानमा बिहान पौने ८ बजे सुरु हुने यो खेल नेपालका लागि जित मात्र होइन, प्रतिष्ठा पनि जोगाउने अवसर हो।

समूह ‘ए’ को अपराजित विजेता बनेको नेपालले चारमध्ये चारवटै खेलमा विजय हात पारेको छ। बलिङ होस् या ब्याटिङ— नेपाली टिम सन्तुलनमा देखिएको छ। अर्कोतर्फ, मलेसियाले समूह ‘बी’ मा तीन जित र एक हारको नतिजासहित सेमिफाइनलको यात्रा तय गरेको हो।

नेपालका लागि यो खेल सजिलो नहुन सक्छ, किनभने आयोजक टिम घरेलु मैदानको फाइदा उठाउँदै खेल्नेछ। तर नेपाली युवा टोलीले अहिलेसम्म देखाएको आत्मविश्वास र प्रदर्शनले समर्थकहरूमा उत्साह थपेको छ।

यस्तै दोस्रो सेमिफाइनलमा हङकङ र सिङ्गापुर आमनेसामने हुनेछन्।

एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा भइरहेको यो प्रतियोगितामा १० राष्ट्र सहभागी छन्। दुई समूहमा विभाजित टिमहरूमध्ये शीर्ष दुई टोली सेमिफाइनलमा पुगेका हुन्।

प्रतियोगिताको फाइनल खेल असार २१ गतेका लागि तय गरिएको छ। अब ध्यान केन्द्रित छ— नेपाल फेरि एक पटक उपाधि यात्रामा अघि बढ्न सक्छ कि सक्दैन?

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  ०५:१५
प्रतिक्रिया दिनुहोस्