सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) द्वारा सार्वजनिक पछिल्लो महिला टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेपालकी रुबिना क्षेत्री र पूजा महतोले आ–आफ्नो स्थान सुधार गरेका छन्।
अलराउन्डर सूचीमा, रुबिना एक स्थान माथि उक्लिँदै ९४औं स्थानमा पुगेकी छन् भने पूजा महतो पनि एक स्थान सुधार गर्दै ९६औं स्थानमा आइपुगेकी छन्। तर, नेपाली टोलीकी कप्तान इन्दु वर्मा भने एक स्थान झरेर ८१औं स्थानमा पुगेकी छन्। अर्की खेलाडी सीता मगर भने ६९औं स्थानमा यथावत् छिन्।
विश्व अलराउन्डर शीर्ष ३ मा कुनै परिवर्तन देखिएको छैन – वेस्ट इन्डिजकी हेली म्याथ्युज पहिलो, न्युजिल्यान्डकी अमेलिया केर दोस्रो र भारतकी दिप्ती शर्मा तेस्रो स्थानमा यथावत् छन्।
बलिङतर्फ, नेपाली कुनै पनि खेलाडी शीर्ष १०० भित्र पर्न सकेका छैनन्। सादिया इकबाल (पाकिस्तान) शीर्ष स्थानमा कायम छन् भने अनाबेल सुथरल्यान्ड (अस्ट्रेलिया) एक स्थान उक्लिँदै दोस्रोमा पुगेकी छन्। दिप्ती शर्मा भने एक स्थान झरेर तेस्रोमा पुगेकी छन्।
ब्याटिङ वरीयतामा नेपालकी सीता राना मगर दुई स्थान तल झर्दै १००औं स्थानमा पुगेकी छन्। यस सूचीमा अस्ट्रेलियाकी बेथ मुने शीर्ष स्थानमा छन्, हेली म्याथ्युज दोस्रो र स्मृति मान्धाना (भारत) एक स्थान उक्लिँदै तेस्रोमा पुगेकी छन्।
टीम वरीयतामा नेपाली महिला टोली २१औं स्थानमा यथावत् रहेको छ।