सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : मलेसियामा जारी एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपाल अपराजित यात्रासहित सेमिफाइनलमा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई २९८ रनले हराउँदै समूह विजेता बन्न सफल भयो।
नेपालले दिएको ३५९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा भुटानको टोली जम्मा ६० रनमै समेटियो। नेपाली बलर विपिनप्रसाद शर्माले शानदार प्रदर्शन गर्दै १० ओभरमा ६ मेडन राख्दै केवल ७ रन खर्चेर ४ विकेट लिए। त्यस्तै, सुयोग भट्टराई र सचिन भट्टले २–२ विकेट झारे।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रनको पहाडजस्तो योगफल खडा गरेको थियो। रौनक श्रीवास्तवले १३२ बलमा १६८ रनको विस्फोटक इनिङ खेले। उनलाई जोए थापाले साथ दिंदै ६७ बलमा अविजित ६१ रन बनाए।
नेपालका अन्य ब्याटरहरूमा श्रीवांश बजगाईंले ५४, सुगम बुढाथोकीले ३५, प्रसिद्द जैसीले ७ तथा परिमार्जन यादवले २ रन बनाए। भुटानका सन्जय दोर्जीले ३ विकेट लिए।
नेपालले यसअघि इन्डोनेसिया, सिंगापुर र जापानलाई पराजित गर्दै समूह चरणमा चारवटै खेल जितेको हो। अब नेपाल सेमिफाइनलमा अर्को समूहको उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ।