dosa dosa

शतकधारी प्रसिद्ध र कप्तान शर्माको घातक बलिङमा नेपाल सेमिफाइनलमा

आइतबार, असार १५, २०८२

असार :ओपनर प्रसिद्ध जैसीको शतकीय इनिङ र कप्तान विपिनप्रसाद शर्माको उत्कृष्ट बलिङ प्रदर्शनको भरमा नेपालले एसिसी यु-१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। प्रतियोगिताको तेस्रो खेलमा नेपालले इन्डोनेसियालाई एकपक्षीय नतिजामा ३७० रनले पराजित गर्दै एक खेल अगावै अन्तिम चारको यात्रा तय गरेको हो।

नेपालले मलेसियाको एसटीसी ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गर्दै ५० ओभरमा ५ विकेट गुमाएर ४२० रनको विशाल स्कोर खडा गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको इन्डोनेसिया २४.३ ओभरमा ५० रनमै समेटियो।

ब्याटिङमा झिल्के प्रदर्शन

नेपालका ओपनर प्रसिद्ध जैसीले ११४ बलमा १५ चौका र १ छक्कासहित १३२ रन बनाए। उनले पहिलो विकेटका लागि परिमार्जन यादवसँग १३२ रनको सशक्त साझेदारी गरे। यादवले पनि २८ बलमा ७१ रन (४ चौका, ८ छक्का) जोडे।

यसपछि रौनक श्रीवास्तवले प्रसिद्धसँग मिलेर तेस्रो विकेटका लागि १४८ रन जोडे। रौनकले ८८ रन (७१ बल, ८ चौका, २ छक्का) बनाए। मध्यक्रममा जोय थापा (५७ रन) र सुगम बुढाथोकी (३९ रन अविजित) ले नेपालको स्कोरलाई मजबुत बनाउन योगदान दिए।

 कप्तान शर्माको घातक स्पेल

४२१ रनको विशाल लक्ष्य पछ्याउन मैदान उत्रिएको इन्डोनेसिया नेपाली बलरहरूको सामु टिक्न सकेन। कप्तान विपिनप्रसाद शर्माले ७.३ ओभरमा मात्र १२ रन खर्चिएर ६ विकेट लिए।
शुभम खनाल र सुगम बुढाथोकीले समान १-१ विकेट लिए।

इन्डोनेसियाका लागि कविन निरज चन्दा (१५ रन) र दिभित नन्दा (१४ रन) बाहेक अरू सबै खेलाडी दोहोरो अंकमा पुग्न असफल भए।

 सेमिफाइनल पुग्ने नेपाल समूह ए को शिर्षस्थानमा

नेपालले यसअघि सिंगापुर र जापानलाई पराजित गरिसकेको छ। यस जितसँगै तीन खेलमा तीन जित निकालेको नेपाल समूह ए मा शिर्ष स्थानमा रहेको छ। समूहको अन्तिम खेलमा नेपाल मङ्गलवार भुटानसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगितामा १० टोली सहभागी छन्। दुई समूहमा विभाजन गरिएको प्रतियोगिताबाट हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनल खेल असार २१ गते (५ जुलाई) हुनेछ।

समूह ए: नेपाल, सिंगापुर, इन्डोनेसिया, भुटान, जापान
समूह बी: मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड, म्यानमार

नेपालको अबको यात्रा सेमिफाइनलतर्फ सुनिश्चित भइसकेको छ भने इन्डोनेसिया प्रतियोगिताबाट बाहिरिएको छ।

 

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १४:३४
प्रतिक्रिया दिनुहोस्