सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :नेपाल क्रिकेट संघ (क्यान) भित्र आन्तरिक असन्तोष चुलिँदै गएको छ।
संघका उपाध्यक्ष रोशन सिंहसहित सातजना बोर्ड सदस्यले क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई पत्र लेख्दै नेपाल प्रिमियर लिग (एनपीएल) को वित्तीय विवरण माग गरेका छन्।
उनीहरूले एनपीएलको पहिलो संस्करणको हिसाबकिताब बोर्डले पटक–पटक माग्दा पनि अहिलेसम्म प्राप्त नभएको गुनासो गरेका छन्। त्यस्तै, हाल एनपीएल–२ को तयारी भइरहे पनि विगतको कार्यक्रमको पारदर्शिता सुनिश्चित नभएको भन्दै आपत्ति जनाएका छन्।
पत्रमा उल्लेख गरिएको छ,
“एनपीएल–२ को तयारी भइ रहेको देखिए पनि पहिलो संस्करणको हिसाब बोर्डमा पेश नै नगरिएको, न अनुमोदन नै गरिएको पुनः जानकारी गराउन चाहन्छौँ।"
साथै, वेस्ट इन्डिज र नेपालबीच युएईमा हुने भनिएको शृंखला बारेमा समेत बोर्डलाई कुनै जानकारी नदिइएको र मिडियाबाट मात्र थाहा पाइएकोप्रति उनीहरूले गम्भीर आपत्ति जनाएका छन्।
पत्रमा उनीहरूको असन्तुष्टि अझ प्रस्ट पार्दै लेखिएको छ,
“संघको हालको कार्यशैलीले संस्थागत प्रक्रिया, पारदर्शिता र सामूहिक निर्णय प्रणालीलाई बेवास्ता गरेको छ। गुटबन्दी, अपारदर्शिता र क्षेत्रीय असन्तुलन झनै गहिरिँदै गएको महसुस गरेका छौँ।”
उनीहरूले नेपाली क्रिकेटको दीर्घकालीन हितको रक्षा गर्न विकास, समावेशिता, पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्न पनि जोड दिएका छन्।
उक्त पत्रमा हस्ताक्षर गर्ने अन्य पदाधिकारीहरूमा सिंहसँगै बोर्ड सदस्य माधव कर्माचार्य, प्रदीप माजगैँया, दुर्गाराज पाठक, विक्रम विष्ट, वीरेन्द्र चन्द, अर्जुन पौडेल र जयन्ती भट्ट रहेका छन्।