सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
लिड्स :टेस्ट क्रिकेटको इतिहासमा पहिलोपटक पाँच शतक प्रहार गरे पनि भारत पराजित भएको छ।
इङ्गल्याण्डले लिड्सस्थित हेडिंग्ले मैदानमा भएको एन्डरसन–तेन्दुलकर ट्रफी अन्तर्गत पहिलो टेस्टमा भारतलाई ५ विकेटले पराजित गर्दै श्रृङ्खलामा १–० को अग्रता बनाएको हो।
इङ्गल्याण्डले भारतले दिएको ३७१ रनको विशाल लक्ष्य अन्तिम दिन ५ विकेट गुमाएर पूरा गर्यो। इंग्लिस टोलीले अन्तिम दिन २१ रन बिना कुनै विकेटबाट पुनः ब्याटिङ थालेको थियो।
दोस्रो इनिङ्समा इङ्गल्याण्डका ओपनर बेन डकेटले १४९ रन बनाए। भारतविरुद्ध व्यक्तिगत रूपमा यो उनको उच्चतम स्कोर हो। उनले पहिलो इनिङ्समा पनि ६२ रन जोडेका थिए। जाक क्रलीले ६५ तथा जो रुटले अविजित ५३ रन बनाए।
भारतका लागि प्रसिद्ध कृष्ण र शार्दुल ठाकुरले समान दुई-दुई विकेट लिए भने एक विकेट अन्य बलरले लिए।
यसअघि भारतले पहिलो इनिङ्समा कप्तान शुबमन गिल (१४७), यशस्वी जैसवाल (१०१) र विकेटकिपर ऋषभ पन्त (१३४) को शतकको मद्दतमा ४७१ रन बनाएको थियो। इङ्ग्ल्यान्डका जोश टंग र बेन स्टोक्सले समान चार–चार विकेट लिए।
जवाफमा इङ्ग्ल्यान्डले पहिलो इनिङ्समा ओली पोपको १०६ रन र ह्यारी ब्रुकको ९९ रनको मद्दतमा ४६५ रन बनायो। भारतका जसप्रित बुमराहले पाँच विकेट लिए।
भारतले दोस्रो इनिङ्समा केएल राहुलको १३७ तथा ऋषभ पन्तको लगातार दोस्रो शतक (११८) को मद्दतमा ३६४ रन बनायो। पन्त टेस्ट क्रिकेटमा लगातार दुई इनिङ्समा शतक बनाउने पहिलो भारतीय विकेटकिपर बनेका छन्। साथै उनले कुल ८ टेस्ट शतक पूरा गर्दै सर्वाधिक शतक बनाउने भारतीय विकेटकिपरको कीर्तिमानसमेत बनाएका छन्।
ब्रेडन कार्स र जोश टंगले ३–३ विकेट लिए भने शोएब बशिरले २ विकेट हात पारे।
यस पराजयसँगै भारत टेस्ट क्रिकेटको इतिहासमा पाँचवटा शतक बनाएको खेलमा हार बेहोर्ने दोस्रो टिम बनेको छ। यसअघि सन् १९२८–२९ मा अष्ट्रेलिया घरेलु मैदान मेलबर्नमा इङ्ग्ल्यान्डसँग पराजित भएको थियो।
पाँच टेस्टको श्रृङ्खलाको दोस्रो म्याच आगामी जुलाई २ तारिखमा बर्मिङ्घममा सुरु हुनेछ।