hERO hERO

एसिसी यु–१६ इस्ट जोन कप: नेपालको विजयी सुरुआत, सिंगापुर ६ विकेटले पराजित

आइतबार, असार ८, २०८२

काठमाडौँ : साबिक विजेता नेपालले मलेसियामा जारी एसिसी यु–१६ इस्ट जोन कप २०२५ मा शानदार सुरुआत गर्दै पहिलो खेलमै सिंगापुरलाई ६ विकेटले हराएको छ।

आइतबार युकेएम ओभलमा सम्पन्न खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा विजयी यात्रा आरम्भ गर्‍यो।

पहिला ब्याटिङ गर्दै सिंगापुरले ३६.१ ओभरमा सबै विकेट गुमाएर १३८ रन बनायो। कप्तान रियान नायकले सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेले, जसमा ९ चौका समावेश थिए। ओपनर आहान भुधानभामले ३८ रन बनाए भने अन्य ब्याटर खासै टिक्न सकेनन्।

नेपालका लागि कप्तान विपिनप्रसाद शर्माले १० ओभरमा ३४ रन खर्चेर ४ विकेट लिएर चम्किए। सचिन भट्टले ३ विकेट हात पार्दा शुभम खनाल र अभय यादवले समान १-१ विकेट लिए। अनुशासित बलिङ प्रदर्शनले सिंगापुरलाई ठूलो स्कोर बनाउन दिइएन।

१३९ रनको लक्ष्य पछ्याउन ओर्लिएको नेपालले ३३.४ ओभरमै ४ विकेटको क्षतिमा लक्ष्य सहजै पुरा गर्‍यो। जितमा प्रशिद्ध जैशीले ५५ रनको अविजित इनिङ खेले भने रौनक श्रीवास्तवले आक्रामक ४० रन जोडे। यी दुईको साझेदारीले नेपाललाई सहज जीतको बाटो देखायो।

सिंगापुरका लागि युभान पाण्डेले १ विकेट लिए तापनि नेपालको जीत रोक्न सकेनन्।

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १४:००
प्रतिक्रिया दिनुहोस्