dosa dosa
त्रिकोणात्मक टि–२० अन्तर्राष्ट्रिय सिरिज

नेपालले स्कटल्याण्डलाई २ विकेटले हरायो, सिरिजमा पहिलो जित

मंगलबार, असार ३, २०८२

काठमाडौँ :त्रिकोणात्मक टि–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालले घरेलु टोली स्कटल्याण्डलाई २ विकेटले हराउँदै महत्वपूर्ण जित निकालेको छ।

टिटवुड, डन्डीमा मंगलबार भएको खेलमा स्कटल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले अन्तिम ओभरमा पूरा गर्‍यो।

यस जितसँगै नेपाल, स्कटल्याण्ड र नेदरल्यान्ड्स सबैको समान २–२ अंक भएको छ। रनरेटका आधारमा नेपाल दोस्रो स्थानमा उक्लिएको छ।

नेपालका लागि कुशल भुर्तेलले ३० रन बनाए। यद्यपि सामान्य लक्ष्य पछ्याउँदा नेपालले नियमित अन्तरालमा विकेट गुमायो र दबाबमा परेको थियो। अन्ततः सन्दीप लामिछानेको विजयी रनसँगै नेपालले खेल जित्यो।

बलिङतर्फ सन्दीपले ४ ओभरमा ११ रन दिँदै ३ विकेट लिए। करण केसी र दीपेन्द्र सिंह ऐरीले २–२ विकेट झारे। स्कटल्याण्ड १९.४ ओभरमा ९७ रनमै समेटिएको थियो। स्कटल्याण्डका माइकल लिस्कले ४४ रनको योगदान दिए।

यो जित नेपालका लागि मनोबल बढाउने खालको रह्यो, विशेषगरी सोमबार नेदरल्यान्ड्ससँगको रोचक सुपर ओभर पराजयपछि। अब बाँकी खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्न सके नेपाल उपाधि नजिक पुग्नेछ।

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  २३:०४
प्रतिक्रिया दिनुहोस्