सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत नेपालले मंगलबार दोस्रो खेलमा घरेलु टोली स्कटल्याण्डको सामना गर्दैछ। खेल स्कटल्याण्डको ग्लासग्लोमा नेपाली समयअनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ।
यो खेल दुवै टोलीका लागि विशेष हुनेछ, किनभने नेपाल र स्कटल्याण्ड टी–२० अन्तर्राष्ट्रिय (टी–२०आई) ढाँचामा पहिलोपटक भिड्न लागेका हुन्। यद्यपि, टी–२० फर्म्याटमा यी दुई टिमबीच सन् २०१३ मा एकपटक सामना भइसकेको छ। यूएईमा सम्पन्न टी–२० विश्वकप छनोटमा स्कटल्याण्डले नेपाललाई ८ विकेटले हराएको थियो।
त्यसपछि स्कटल्याण्डले टी–२०आई खेल खेल्दै आइरहँदा नेपालले मात्र सन् २०१४ मा आधिकारिक मान्यता पाएको थियो। त्यसैले १२ वर्षपछि फेरि यी दुई राष्ट्रबीच टी–२० प्रतिस्पर्धा हुन लागेको हो—र यसपटक आधिकारिक टी–२०आईको रूपमा।
स्कटल्याण्डले शृंखलाको पहिलो खेलमा नेदरल्याण्ड्सलाई ३९ रनले पराजित गर्दै सशक्त सुरुवात गरिसकेको छ। घरेलु टोली आत्मविश्वासमा देखिन्छ भने नेपाल पछिल्लो खेलको रोमाञ्चक हारपछि पुनः लयमा फर्कन चाहन्छ। पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरसम्म पुगेको थियो, जुन निकै दुर्लभ क्षण मानिन्छ।
उक्त खेल नेपालको १००औं टी–२०आई खेलका रूपमा विशेष रह्यो। यसै खेलमा किरण ठगुन्ना र रुपेश सिंहले क्रमशः ५०औं र ५१औं खेलाडीका रूपमा डेब्यू गरेका थिए।
अबको खेलमा नेपालको लक्ष्य अनुभवी टोली स्कटल्याण्डविरुद्ध ऐतिहासिक जित निकाल्नु हुनेछ। दुवै टोलीसामु इतिहास रच्ने सुनौलो अवसर छ।