diwpawali diwpawali

दुर्गेशको शतकले भोटेचौरलाई रोमाञ्चक जित

शुक्रबार, जेठ ३०, २०८२

काठमाडौँ :दुर्गेश थापाको शतक प्रेरित उत्कृष्ट प्रदर्शनमा भोटेचौर स्पोर्ट्स क्लबले सिन्धुपाल्चोक जिल्लास्तरीय पाँचपोखरी ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा शुक्रबार हेलम्बु गाउँपालिकामाथि डकवर्थ–लुइस (DLS) पद्धतिअनुसार ६ रनको रोमाञ्चक जित दर्ता गरेको छ।

जितसँगै भोटेचौरले समूह ‘बी’ बाट दुई खेलमा दुई अंक जोडेको छ। हेलम्बुले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।
पहिलो खेलमा भोटेचौर मेलम्ची नगरपालिकासँग पराजित भएको थियो।

वर्षाले प्रभावित खेल
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेल वर्षाले प्रभावित भएपछि हेलम्बुले ६.४ ओभरमा ६४ रनको नयाँ लक्ष्य पाएको थियो।
जवाफमा हेलम्बुले सबै ओभर खेल्दै तीन विकेट गुमाएर ५७ रन मात्र बनाउन सक्यो। विनोद तामाङले अविजित ३३ रन बनाए भने कृष कार्कीले १० रनको योगदान दिए। भोटेचौरका राजेश चौलागाईंले दुई विकेट र सुमित झाले एक विकेट लिए।

दुर्गेशको अविजित शतक
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भोटेचौरले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १८२ रनको विशाल योगफल तयार पारेको थियो। टीमका स्टार ब्याट्सम्यान दुर्गेश थापाले ६३ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै अविजित ११२ रनको शतकीय इनिङ खेले।

त्यस्तै, सुमित झाले ३६, निश्चल थापाले १६ र कप्तान राजीव चौलागाईंले १० रनको योगदान गरे।
हेलम्बुका लागि दावा शेर्पाले दुई विकेट र विनोद तामाङले एक विकेट लिए।

सात टोलीको सहभागिता
पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा कुल सात टोली सहभागी छन्।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १४:५९
प्रतिक्रिया दिनुहोस्