dosa dosa
विश्वकप लिग-२

स्कटल्याण्डसङ्ग २ रनले हार्याे नेपाल

आइतबार, जेठ २५, २०८२

काठमाडौं :स्कटल्यान्डमा जारी आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पहिलो हार व्यहोरेको छ। आइतबार राति सम्पन्न खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग २ रनको झिनो अन्तरले पराजित भएको हो।

यसअघि सिरिजको पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई १ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्यान्डलाई ५ विकेटले हराएको थियो। स्कटल्यान्डले पनि दोस्रो जित निकाल्दै प्रतियोगितामा सशक्त प्रदर्शन गरेको छ। स्कटल्यान्डले नेदरल्यान्डलाई ४४ रनले हराएको थियो।

३२४ रनको विशाल लक्ष्य पछ्याउँदा नेपालको संघर्ष

डुन्डीस्थित फोर्थहिल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय २३ रन बनायो। कप्तान रिची बेरिङटन र माइकल लिस्कले छैटौँ विकेटका लागि १ सय २३ रनको कीर्तिमानी साझेदारी गरे। बेरिङटनले १ सय १४ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै १ सय २ रन बनाए भने लिस्क ९६ रनमा नटआउट रहे। उनले ६२ बलमा १२ चौका र ३ छक्का प्रहार गरे। मार्क वाटले ९ बलमा ३ छक्का प्रहार गर्दै २१ रन जोडे।

नेपालले लक्ष्य पछ्याउने क्रममा निर्धारण ५० ओभरमा ३ सय २१ रनमा अलआउट हुँदै खेल २ रनले गुमायो। नेपालको इनिङ्समा भिम सार्कीले सर्वाधिक ७३ रन बनाए। उनले ८५ बलमा ८ चौकाको मद्दतमा यो रन जोडे।

रोचक अन्त्य : ७ रन चाहिँदा नेपाल अलआउट

नेपाललाई अन्तिम २ ओभरमा १६ रन आवश्यक थियो। ४९औँ ओभरमा ९ रन बनेपछि अन्तिम ओभरमा ७ रन चाहिएको थियो। तर, तेस्रो बलमा करण केसी १० बलमा १७ रन बनाएर क्याच आउट भए। अन्तिम बलमा ललित राजवंशी बोल्ड आउट भएपछि नेपाल हार्न पुग्यो।

आरिफ शेखले ५५ बलमा ५ चौका सहित ३९ रन बनाए भने गुल्सन झाले ११ रनमा आउट भए। सातौँ विकेटका लागि दिपेन्द्र सिंह ऐरि र सोमपाल कामीले १ सय ७ रनको महत्त्वपूर्ण साझेदारी गरे। दिपेन्द्रले ५१ बलमा २ चौका सहित ५६ रन बनाए भने सोमपालले ४४ बलमा ३ चौका र ६ छक्का सहित ६७ रन जोडे।

नेपालका लागि करण केसी र दिपेन्द्र सिंह ऐरिले समान २ विकेट लिए भने ललित राजवंशीले १ विकेट लिए।

नेपालको अर्को खेल मंगलबार नेदरल्यान्डसँग

सिरिजको अन्तिम खेलमा नेपालले मंगलबार नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। सिरिजमा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्डबीचको प्रतिस्पर्धा निकै रोचक बनेको छ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  २३:४४
प्रतिक्रिया दिनुहोस्