dosa dosa

स्कटल्याण्डले नेपाललाई दियो ३२४ विशाल लक्ष्य

आइतबार, जेठ २५, २०८२

काठमाडौँ :आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डले नेपाललाई जितकालागि ३२४ रनको विशाल लक्ष्य पेश गरेको छ ।  

घरेलु मैदान डन्डीस्थित फोर्थहिलमा टस जितेर पहिले ब्याटिङ थालेको स्कटल्याण्डले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै ३२३ रन बनायो । उसकालागि कप्तान रिच बेरिङ्टनले बिस्फोटक ब्याटिङ गर्दै शतकिय पारी खेले । ११४ बलको सामना गरेका उनले ६ चौका र ४ छक्का प्रहार गर्दै १०२ रन बनाए । माइकल अलेक्जेन्डर लीस्कले ९४ रन बनाउँदा चार्ली टारले ६८ रन जोडे ।  फिनले म्याकक्रियाथले १७ तथा ब्रान्डन म्याकुलमले ५ रन बनाउँदा जर्ज मुन्सेले खाता नै खोल्न सकेनन् ।

बलिङतर्फ करण केसी र दिपेन्द्र सिं ऐरीले दुई–दुई विकेट लिदाँ ललित राजवंशीले एक विकेट हात पारे । बलिङतर्फ सोमपाल कामी र सन्दीप लामिछाने निकै महंगो साबित बने । ९ ओभर बलिङ गरेका कामीले ७५ रन खर्चिदा विकेट लिन सकेनन् । १० ओभर बलिङ गरेका लामिछानेले ६९ रन खर्चिएपनि विकेट लिन सकेनन् ।

यसअघिका खेलमा लगातार जित निकालेको नेपाल आज तेस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा स्कटल्याण्डबिरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको नेपालले दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ५ विकेटले हराएको थियो ।

नेपाल १४ खेलमा १० अंकका साथ लिगको सातौं स्थानमा छ भने १७ खेलमा २० अंकका साथ स्कटल्याण्ड चौथो स्थानमा छ ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १९:२०
प्रतिक्रिया दिनुहोस्