सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएई) का कप्तान मुहम्मद वासीमलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मे २०२५ को ‘प्लेयर अफ द मन्थ’ घोषित गरेको छ।
वासीमले यो प्रतिष्ठित उपाधि स्कटल्याण्डका ब्रान्डन म्याकमुलेन र अमेरिकाका मिलिन्द कुमारलाई पछि पार्दै दोस्रो पटक जितेका हुन्। उनले यसअघि अप्रिल २०२४ मा पनि यो अवार्ड जितेका थिए।
मे महिनामा वासीमको प्रदर्शन निकै प्रभावशाली रह्यो। उनले बंगलादेशविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा कप्तानी गर्दै यूएईलाई २–१ को ऐतिहासिक जित दिलाए। यो जित यूएई क्रिकेट इतिहासकै सबैभन्दा ठूलो उपलब्धिमध्ये एक हो।
वासीमले तीन खेलमा १४५ रन बनाएका थिए, जसमा उनको स्ट्राइक रेट १६६.६६ रहेको थियो। सिरिजको दोस्रो खेलमा उनले ४२ बलमा ८२ रनको विस्फोटक इनिङ खेल्दै यूएईलाई पहिलोपटक बंगलादेशविरुद्ध जित दिलाएका थिए।
टी–२० मात्र होइन, उनले एकदिवसीय क्रिकेटमा पनि सानदार प्रदर्शन गरेका थिए। मे महिनामा खेलेका पाँच ओडीआई खेलमा उनले ३३.८० को औसत र ९०.३७ को स्ट्राइक रेटका साथ १६९ रन जोडे।
अवार्ड जितेपछि वासीमले भने, “यो पुरस्कार मेरो टिम र समर्थकहरू सबैको हो। बंगलादेशविरुद्धको जीतले यूएई क्रिकेटको स्तर प्रस्ट देखाएको छ। हाम्रो लक्ष्य अब ठूला टोलीहरूमाथि जीत हासिल गर्नु हो।” उनले एमिरेट्स क्रिकेट बोर्डप्रति समर्थनका लागि आभार पनि व्यक्त गरे।