yt yt

१८ वर्षकाे प्रतिक्षापछि आपिएलकाे उपाधि बैंलुरुलाई

बुधबार, जेठ २१, २०८२

काठमाडौं :१८ वर्षको प्रतीक्षापछि रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले अन्ततः इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ ।

मंगलबार सम्पन्न फाइनल खेलमा पञ्जाब किङ्सलाई ६ रनले पराजित गर्दै आरसीबीले इतिहास रच्‍न सफल भयो ।१९१ रनको लक्ष्य पछ्याएको पञ्जाब किङ्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्रै बनाउन सक्यो । अन्तिम ओभरमा पञ्जाबलाई जितका लागि २९ रन आवश्यक थियो । शशांक सिंहले ३ छक्का र १ चौका प्रहार गर्दै संघर्ष गरे पनि जित दिलाउन सकेनन् । उनले ३० बलमा अविजित ६१ रन बनाए । जोश इङ्लिसले ३९ रनको योगदान दिए ।

आरसीबीका लागि भुवनेश्वर कुमार र क्रुणाल पान्ड्याले २-२ विकेट लिए भने जोश हेजलवूड, यश दयाल र रोमारियो शेपहर्डले १-१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले २० ओभरमा ९ विकेट गुमाउँदै १९० रन बनायो ।

विराट कोहलीले सर्वाधिक ४३ रन बनाए । कप्तान रजत पाटिदारले २६ रन, लियाम लिभिङस्टोनले २५ रन तथा मयंक अग्रवाल र जितेश शर्माले समान २४–२४ रन जोडे ।

पञ्जाबका बलरहरूमध्ये अर्शदीप सिंहले ४ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । त्यस्तै काइल जेमिसनले पनि ४ ओभरमा ४८ रन दिँदै ३ विकेट हात पारे । ओमरजाइ, वाइशाक र चहलले समान १-१ विकेट लिए ।

आरसीबीले यसअघि सन् २००९, २०११ र २०१६ मा फाइनल खेलेको थियो, तर हरेकपटक उपाधिबाट बञ्चित रहँदै आएको थियो । यसपटक भने १८ वर्ष लामो संघर्षको अन्त्य गर्दै आईपीएलको पहिलो उपाधि उचाल्न सफल भएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  ०६:०२
प्रतिक्रिया दिनुहोस्