yt yt
विश्वकपलिग -२

करण केसी नायक बन्दा स्कटल्याण्ड विरुद्द राेमाञ्चक जित

मंगलबार, जेठ २०, २०८२

काठमाडौं :स्कटल्याण्डको फोर्थहिल मैदानमा सोमबार एउटा अविस्मरणीय खेल देखियो — जहाँ अन्तिम बलसम्म टोलिएको सास नेपालका करण केसीले जितको गर्जनमा परिणत गरे।

२९७ रनको विशाल लक्ष्य पछ्याउँदै गर्दा नेपाल संकटमा थियो — ९ विकेट गुमिसकेको थियो र जितका लागि अन्तिम बलमा १ रन आवश्यक। स्कटल्याण्डका बलर मार्क वाटले प्रेशरमा गल्ती गरे, अन्तिम बलमै वाइड फाल्दा नेपाल ऐतिहासिक जितका साथ मैदान छोड्न सफल भयो।

तर यो विजयको कथा त्यतिमै सकिँदैन। यो जितको केन्द्रमा थिएन कुनै टप अर्डर स्टार, थिए त तल्लोक्रमका बलरबाट ब्याट्सम्यान बनेका करण केसी। उनले ४१ बलमा ३ चौका र ४ छक्कासहित अविजित ६५ रन बनाएर असम्भव जस्तो देखिएको लक्ष्यलाई सम्भव बनाए। त्यो पारी केवल रनको गन्ती मात्र थिएन, त्यो आत्मविश्वास, साहस र राष्ट्रिय गौरवको परिभाषा थियो। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले अहिलेसम्म सबैभन्दा ठूलो लक्ष्य पूरा गरेको यो पहिलो घटना समेत हो । 

पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ७२ रनको राम्रो सुरुआत दिए। भुर्तेलले ११ चौकासहित ५३ रन बनाए भने आसिफले २० रनमा पवेलियन फर्किए। त्यसपछि गुलशन झा (४२ रन), भीम सार्की (४० रन), र कप्तान रोहित पौडेल (३७ रन) ले समेत सशक्त योगदान दिए तापनि मध्यमक्रमको धराशायी प्रदर्शनले नेपाललाई दवावमा पारेको थियो।

स्कटल्याण्डका ब्रेण्डन मक्कमलान (३ विकेट), माइकल लिस्क र ज्याक जार्भिस (२–२ विकेट) ले नेपालको रन चेजलाई पटक–पटक झड्का दिए। तर करण केसीले खेलको दिशा फेरिदिए।

खेलको पहिलो इनिङमा टस जितेर ब्याटिङ थालेको स्कटल्याण्डले ५० ओभरमा ७ विकेट गुमाउँदै २९६ रन बनायो। चार्ल्स टेयर्सले ८० रन बनाए, फेन्ली म्याक्रिथले ५५, र कप्तान बेरिङ्टनले ४० रन जोडे। नेपालका लागि करण केसी, सोमपाल कामी, रिजन ढकालले समान २ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट लिए।

यो जितसँगै नेपालले लिग टु को १३ औं खेलमा ८ अङ्क जोड्दै सातौं स्थानमा उक्लिएको छ। स्कटल्याण्ड भने १७ खेलमा २० अङ्कसहित चौथो स्थानमा यथावत् छ।

लिग टु सन् २०२७ मा हुने ओडिआई विश्वकपको छनोट प्रक्रियाको हिस्सा हो, जहाँ शीर्ष चार टोली ग्लोबल छनोटमा सिधै पुग्नेछन्। बाँकी टोलीहरूले भने प्लेअफ खेलेर विश्वकपको यात्रा सुनिश्चित गर्नुपर्नेछ।

अब नेपालले आगामी खेलहरूमा पनि यस्तै प्रदर्शन गर्न सके, विश्वकप यात्रा टाढा छैन।

भिडियोमा हेर्नुहोस :

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  ००:१३
प्रतिक्रिया दिनुहोस्