yt yt

पन्जाब किङ्स ११ वर्षपछि फाइनलमा

सोमबार, जेठ १९, २०८२

काठमाडौँ: इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को उपाधिका लागि रोयल च्यालेन्जर्स बैंग्लोर र पन्जाब किङ्सबीच मंगलबार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भिडन्त हुने भएको छ।

आइतबार राति सम्पन्न दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै पन्जाब किङ्स ११ वर्षपछि फाइनलमा पुगेको हो। सन् २०१४ पछि पहिलोपटक फाइनल पुगेको पन्जाब यसअघि सन् २००८ र २०१४ मा उपविजेता बनेको थियो तर अहिलेसम्म उपाधि जित्न सकेको छैन।

पन्जाब पहिलो क्वालिफायरमा बैंग्लोरसँग ८ विकेटले पराजित भएको थियो। त्यसपछि दोस्रो क्वालिफायरमा पुगेको पन्जाबले पाँच पटकको च्याम्पियन मुम्बईलाई पराजित गर्दै ऐतिहासिक जित दर्ता गर्‍यो। मुम्बईले एलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई २० रनले हराएर क्वालिफायर २ मा स्थान बनाएको थियो।

दोस्रो क्वालिफायरमा मुम्बईले दिएको २०४ रनको लक्ष्य पन्जाबले ६ बल बाँकी छँदै ५ विकेटको क्षतिमा पूरा गर्‍यो। कप्तान श्रेयस ऐयरले अविजित ८७ रन बनाए। उनले ४१ बलमा ५ चौका र ८ छक्का प्रहार गरे। नेहाल वाडेराले ४८, जोस इनलिसले ३८ र प्रियांश सिंहले २० रनको योगदान गरे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २०३ रन बनाएको थियो। मुम्बईका लागि तिलक बर्मा र सूर्यकुमार यादवले समान ४४ रन, जोनी बेयरस्टोले ३८ रन र नमन धिरले ३७ रन बनाए।

अब उपाधिका लागि बैंग्लोर र पन्जाबबीचको भिडन्त रोचक हुने अपेक्षा गरिएको छ। पन्जाब आफ्नो पहिलो उपाधि जित्ने लक्ष्यमा छ भने बैंग्लोर पनि लामो समयको उपाधि प्यास मेटाउन चाहन्छ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  ०६:२०
प्रतिक्रिया दिनुहोस्