yt yt

आईसीसीले क्रिकेटका नियममा गर्यो ठूलो परिवर्तन

आइतबार, जेठ १८, २०८२

काठमाडौं :अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्रिकेटको नियममा ठूलो परिवर्तन गरेको छ।

खासगरी एकदिवसीय र टेस्ट खेलमा बलको प्रयोग र खेलाडी प्रतिस्थापन सम्बन्धी नयाँ नियम लागू गर्न लागेको हो । क्रिकबजमा प्रकाशित रिपोर्ट अनुसार, टेस्ट क्रिकेटमा नयाँ नियमहरू विश्व टेस्ट च्याम्पियनशिप (डब्ल्यूटीसी) फाइनलपछि लागू हुनेछन् भने एकदिवसीय क्रिकेटमा आगामी जुलाईदेखि लागू गरिनेछ । यद्यपि, आईसीसीले हालसम्म औपचारिक रूपमा नयाँ नियमहरूबारे विस्तृत जानकारी भने सार्वजनिक गरिसकेको छैन ।
एकदिवसीय क्रिकेटमा दुई बल प्रयोगको नियम बदलिने
अहिलेसम्मको प्रचलन अनुसार, एकदिवसीय खेलमा दुबै छेउबाट दुई नयाँ बलको प्रयोग हरेक इनिङको सुरुदेखि ५० ओभरसम्म गरिँदै आएको छ। तर अब, नयाँ नियमअनुसार, यी दुई बलहरू केवल पहिलो ३४ ओभरसम्म मात्र प्रयोग गर्न सकिनेछन्।

त्यसपछि, बलिङ गर्ने टोलीले तीमध्ये कुनै एउटा मात्र बल छनौट गरी बाँकी ओभर खेल्नुपर्नेछ भने अर्को बललाई रिजर्भमा राखिनेछ।
यदि वर्षा वा अन्य कारणले गर्दा खेल २५ ओभर वा सोभन्दा कममा सीमित भयो भने, त्यो अवस्थामा इनिङमा केवल एक बल मात्र प्रयोग गरिनेछ ।
डिआरएसमा पनि परिवर्तन, तर विवरण आउन बाँकी
आईसीसीले डिसिजन रिभ्यू सिस्टम (डिएसआर ) सम्बन्धी नियमहरूमा पनि केही परिवर्तन गर्न लागेको जनाएको छ । तर, यसबारे विस्तृत विवरण हालसम्म सार्वजनिक गरिएको छैन।
प्रतिस्थापनको लागि अब ५ ब्याकअप खेलाडी
नयाँ नियमअनुसार, अब हरेक टोलीसँग प्रतिस्थापनको लागि ५ जना ब्याकअप खेलाडी रहनेछन्। 

  • एक जना ब्याट्सम्यान
  • एक जना फास्ट बलर
  • एक जना अलराउन्डर
  • एक जना स्पिन बलर
  • एक जना विकेटकिपर

यदि प्रतिस्थापन गरेर मैदानमा आएका खेलाडी समेत घाइते भएमा, अम्पायरले नयाँ विकल्प दिने अधिकार पाउनेछन् । 
विश्व टेस्ट च्याम्पियनशिपको फाइनल जुन ११ देखि १५ सम्म
यस वर्षको डब्ल्यूटीसी फाइनल खेल दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच जुन ११ देखि १५ सम्म हुनेछ। यो खेलमा हालका नयाँ नियमहरू लागू हुने छैनन्। फाइनलपछिको टेस्ट सिरिजहरूमा मात्रै यी नयाँ नियमहरू कार्यान्वयन गरिने ।
 

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  ११:५०
प्रतिक्रिया दिनुहोस्