सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ: दक्षिण अफ्रिकाका स्टार क्रिकेटर कगिसो रबाडाले 'रेक्रिएसनल ड्रग' (मनोरञ्जनको लागि प्रयोग गरिने लागूपदार्थ) सेवन गरेको स्वीकार गरेका छन् ।
उनले त्यसको सजायस्वरूप एक महिना निलम्बन भोगीसकेका छन् । अब उनी पुनः अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किंदैछन् । विशेषगरी वर्ल्ड टेस्ट च्याम्पियनसिप (WTC) फाइनलमा खेल्न उनी दक्षिण अफ्रिकाली टोलीमा फर्कन लागेकाे अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
रबाडाले स्वीकारेअनुसार यो घटनाले उनलाई केही समय आत्म-चिन्तन गर्न बाध्य बनायो । उनले भने, "मैले यसबाट सबैभन्दा ठूलो पाठ सिकें "हामीले माया गर्ने खेल खेल्न पाउनु नै ठूलो कुरा हो । म फेरि खेल्न पाएकोमा खुसी छु।"
रबाडाले पहिलो पटक मिडियासँग बोल्दै भने, "मलाई लाग्छ, मेरो टिमका साथीहरूसँग यो विषयमा कुरा गर्नु मेरो जिम्मेवारी हो । हामी निकै लामो बाटो सँगै आएका हौं, त्यसैले नजिकका साथीहरूलाई म केही न केही भन्न चाहन्छु ।"
उनले स्पष्ट पारे ' पटक-पटक माफी माग्दै हिँड्ने मान्छे' बन्न चाहन्न, तर आवश्यक परे विस्तृत रूपमा कुरा गर्न तयार रहेको छु।
रबाडा मार्च महिनामा इण्डियन प्रिमियर लिग (IPL ) २०२५ बाट "व्यक्तिगत कारण" भन्दै स्वदेश फर्किएका थिए । त्यसपछि मात्र उनले जनवरीमा साउथ अफ्रिका टी-२० (SA20) लिगको क्रममा लागूपदार्थ प्रयोग गरेको र त्यसका कारण प्रतिबन्ध लागेको कुरा सार्वजनिक भएको हो । उक्त पदार्थ दक्षिण अफ्रिकी खेलकुद एजेन्सीको सूचिअनुसार गाँजा ,कोकिन, हेरोइन मध्ये कुनै एक हुन सक्छ ।
एक महिनाको प्रतिबन्धपछि उनी फेरि IPL खेल्न भारत फर्किए र गुजरात टाइटन्सका लागि दुई खेल खेले ।
उक्त गल्ती स्वीकार गरेकै कारण उनलाई सजायमा केही सहुलियत दिइएको बुझिएको छ ।
अब भने उनी राष्ट्रिय टोलीमा फर्किंदैछन्, जहाँ उनलाई सहकर्मी, मिडिया तथा विपक्षीसँग पनि सामाना गर्नुपर्नेछ — जुन जिम्मेवारीलाई उनले गम्भीर रूपमा लिइरहेका छन् ।