hERO hERO

मुम्बई आईपीएलको दोस्रो क्वालिफायरमा ,पञ्जाबसँग भिड्ने

शनिबार, जेठ १७, २०८२

काठमाडौँ : मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

शुक्रबार राति चन्डिगढमा सम्पन्न इलिमिनेटर खेलमा गुजरात टाइटान्सलाई २० रनले पराजित गर्दै मुम्बई दोस्रो क्वालिफायरमा प्रवेश गरेको  हो ।

टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २२८ रनको विशाल योगफल खडा गर्‍यो । कप्तान रोहित शर्माले ५० बलमा ८१ रनको उत्कृष्ट इनिङ्स खेले । सुरुवाती क्षणमा दुईपटक जीवनदान पाएका रोहितले ४ छक्का प्रहार गर्दै आईपीएलमा ३०० छक्का हान्ने पहिलो भारतीय खेलाडी बन्ने कीर्तिमान बनाएका छन् ।

रोहितले यससँगै आईपीएलमा ७ हजार रन पार गर्ने दोस्रो खेलाडीको उपलब्धि पनि हासिल गरे । उनीभन्दा अघि यो उपलब्धिमा विराट कोहली पुगेका थिए ।

रोहितको साथमा जोनि बेयरस्ट्रोले २२ बलमा ४७, सूर्यकुमार यादवले २० बलमा ३३, तिलक वर्माले ११ बलमा २५, र हार्दिक पाण्ड्याले ९ बलमा अविजित २२ रन जोड्दै मुम्बईको स्कोर मजबुत बनाए ।

गुजरातका लागि प्रसिद्ध कृष्ण र साइ किशोरले समान २–२ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा गुजरातले ६ विकेट गुमाउँदै २०८ रन मात्रै बनाउन सक्यो । ओपनर साइ सुदर्शनले ४९ बलमा ८० रनको लयदार इनिङ्स खेले पनि टिमलाई जित दिलाउन असफल रहे । वाशिंगटन सुन्दरले २४ बलमा ४८ रन जोडे । मुम्बईका लागि ट्रेन्ट बोल्टले २ विकेट लिए ।

अब मुम्बईले दोस्रो क्वालिफायर खेल आइतबार पञ्जाब किंग्ससँग खेल्नेछ ।

बैंगलुरु चौथो पटक फाइनलमा
यसअघि बिहीबार राति सम्पन्न पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंगलुरुले पञ्जाब किंग्सलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

टस हारेर पहिला ब्याटिङ गरेको पञ्जाबको पारी १४.१ ओभरमै १०१ रनमा सीमित भयो । पञ्जाबका लागि मार्कस स्टोइनिसले २६, प्रविसिम्रन सिंह र अज्मतुल्लाह ओमरजायीले समान १८–१८ रन बनाए । बाँकी ब्याटर भने दोहोरो अंकमा पुग्न सकेनन् ।

सुयश शर्मा र जोश हाज्लेवुडले ३–३ विकेट, याश दयालले २, र भुवनेश्वर कुमार तथा रोमारियो शेफर्डले १–१ विकेट लिए ।

जवाफमा बैंगलुरुले १० ओभरमै २ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । फिल साल्टले अर्धशतक बनाउँदै टोलीलाई सहज जित दिलाए ।

यो जितसँगै बैंगलुरु चौथो पटक फाइनलमा प्रवेश गरेको हो । मुम्बई यसअघि  सन् २००९, २०११ र २०१६ मा फाइनलमा पुगेको थियाे, तर उपाधि भने अहिलेसम्म जित्न सकेका छैनन् ।

आईपीएल २०२५ को फाइनल आउँदो मंगलबार हुनेछ ।

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  ०६:२३
प्रतिक्रिया दिनुहोस्