diwpawali diwpawali

निक पोथास नेपाली क्रिकेट टोलीका कन्सल्ट्यान्ट प्रशिक्षक नियुक्त

बिहीबार, जेठ १५, २०८२

काठमाडौं :नेपाल क्रिकेट संघ (क्यान) ले दक्षिण अफ्रिकाका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर निक पोथासलाई नेपाली पुरुष टोलीका लागि कन्सल्ट्यान्ट प्रशिक्षकको रूपमा नियुक्त गरेको छ।

यो नियुक्ति नेपालले स्कटल्याण्डमा खेल्न लागेको विश्वकप लिग–टु अन्तर्गतको चौथो चरणको खेललाई लक्षित गर्दै गरिएको हो।

सन् २००० मा पाकिस्तानविरुद्ध तीन ओडिआई खेल खेलेका पोथास प्रशिक्षकको भूमिकामा भने निकै अनुभवी मानिन्छन्।

उनले अघिल्लो समयमा वेस्ट इण्डिज र श्रीलंकाको राष्ट्रिय टोलीको अन्तरिम मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन्। पछिल्लो चरणमा उनी बंगलादेश क्रिकेट टिममा सहायक मुख्य प्रशिक्षकको भूमिकामा सक्रिय थिए।

हाल नेपाली टोली स्कटल्याण्डमा रहेको छ, जहाँ उसले घरेलु टोली स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १०:४७
प्रतिक्रिया दिनुहोस्