yt yt

बेंगलुरु क्वालिफायर-१ मा ,पञ्जाबसँग प्रतिस्पर्धा गर्ने

बुधबार, जेठ १४, २०८२

नयाँ दिल्ली : रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै तेस्रो ठूलो लक्ष्य सफलतापूर्वक पछ्याउँदै क्वालिफायर-१ मा स्थान सुरक्षित गरेको छ। मंगलबार लखनऊ सुपर जायन्ट्सविरुद्ध इकाना क्रिकेट स्टेडियममा भएको खेलमा बेंगलुरुले २२८ रनको लक्ष्य ४ विकेटको क्षतिमा पुरा गर्दै ऐतिहासिक जित हात पारेको हो।

यस जितसँगै बेंगलुरुले यस सिजनको लिग चरण दोस्रो स्थानमा समाप्त गरेको छ। अब टोलीले मे २९ मा क्वालिफायर-१ अन्तर्गत पञ्जाब किङ्ससँग प्रतिस्पर्धा गर्नेछ।

बेंगलुरुका कप्तान जितेश शर्माले ३३ बलमा अविजित ८५ रनको विस्फोटक पारी खेले भने मयंक अग्रवालले २३ बलमा नटआउट ४१ रन जोडे। दुवैबीच पाँचौं विकेटका लागि १०७ रनको अविजित साझेदारी भएको थियो।

यसअघि विराट कोहलीले ५४ रन बनाउँदै सिजनको आठौं र आईपीएल करियरको ६३ औं अर्धशतक पुरा गरे। उनले यसक्रममा डेभिड वार्नरको ६२ अर्धशतकको कीर्तिमान तोड्दै आईपीएल इतिहासमा सबैभन्दा धेरै अर्धशतक बनाउने खेलाडी बने।

टस जितेर पहिले ब्याटिङ गरेको लखनऊले २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रनको विशाल योगफल बनाएको थियो। कप्तान ऋषभ पन्तले ६१ बलमा अविजित ११८ रनको शतकीय इनिङ्स खेले, जसमा ११ चौका र ८ छक्का समावेश थिए। साथै, मिचेल मार्शले पनि ६७ रनको योगदान दिँदै टोलीलाई २०० रन पार गराएका थिए। यद्यपि, उनको उत्कृष्ट प्रदर्शन पनि जितमा परिणत हुन सकेन।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  ०६:१५
प्रतिक्रिया दिनुहोस्