yt yt

युके अभ्यासमा नेपाल अपराजित , आत्मविश्वासका साथ स्कटल्याण्ड जाने

मंगलबार, जेठ १३, २०८२

काठमाडौं :स्कटल्याण्डमा हुने लिग २ शृंखलाको तयारीस्वरूप युके भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अन्तिम अभ्यास खेलमा समेत जित हात पारेको छ।

आज विहान सम्पन्न एकदिवसीय खेलमा नेपालले ग्लामोर्गानको दोस्रो टोलीलाई डकवर्थ–लुइस (DLS) प्रणालीअनुसार ५० रनले पराजित गरेको हो।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९४ रनको चुनौतीपूर्ण योगफल खडा गर्‍यो। भीम सार्कीले ९२ रनको उत्कृष्ट पारी खेले भने कप्तान रोहित पौडेलले ६१ रन बनाएका थिए। दिपेन्द्रसिंह ऐरी अविजित ४९ रनमा क्रिजमा रहे।

बलिङतर्फ ग्लामोर्गानका एडवार्ड लियोनार्डले ३ विकेट लिए भने बेन मोरिसले २ र रोमानो फ्रान्कोले १ विकेट लिए।

२९५ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको ग्लामोर्गानको इनिङ वर्षाले प्रभावित बन्यो। खेल रोकिनुअघि ३४ ओभरमा लक्ष्य DLS प्रणाली अनुसार २३३ रनमा झर्‍यो। तर टोलीले ३०.४ ओभरमै १८२ रनमा सबै विकेट गुमायो।

ग्लामोर्गानका हनरी हर्लेले ४२ रन बनाए भने एडी बायरमको खातामा ३१ रन रह्यो। होप बेलले २८ रनको योगदान दिए।

नेपालका लागि कुशल भुर्तेल चम्किए। उनले ५ ओभरमा १९ रन दिँदै ४ विकेट झारे। नन्दन यादवले २ विकेट लिए भने सोमपाल कामी, सन्दीप लामिछाने, रोहित पौडेल र गुल्शन झाले समान १–१ विकेट हात पारे।

यसअघि नेपालले कार्डिफ युनिभर्सिटी, एमसीसी, र ग्लोसेस्टरशायरविरुद्धको सबै अभ्यास खेलमा जित हात पारिसकेको छ।

अभ्यास शृंखलाबाट सकारात्मक संकेतहरू बटुल्दै नेपाली टोली अब लिग २ अघि स्कटल्याण्ड प्रस्थान गर्नेछ, जहाँ उसले स्कटल्याण्ड ‘ए’ टोलीसँग थप दुई अभ्यास खेल खेल्नेछ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  ०८:१४
प्रतिक्रिया दिनुहोस्