सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को पहिलो क्वालिफायरमा पञ्जाब किङ्सले स्थान सुरक्षित गरेको छ। सोमबार भएको अन्तिम लिग खेलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गर्दै पञ्जाबले शीर्ष दुईमा आफ्नो स्थान पक्का गरेको हो।
१८५ रनको लक्ष्य पछ्याएको पञ्जाबले १८.३ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य भेट्टायो। जोश इङ्लिसले उत्कृष्ट प्रदर्शन गर्दै ७३ रन बनाए भने प्रियान्श आर्याले ६२ रनको योगदान दिए। यी दुईबीच दोस्रो विकेटका लागि १०९ रनको महत्वपूर्ण साझेदारी बन्यो। कप्तान श्रेयस अय्यर २६ रनमा नटआउट रहे।
मुम्बईका लागि मिचेल सान्टनरले २ तथा जसप्रित बुमराहले १ विकेट लिए।
यसअघि, टस हारेर पहिले ब्याटिङको मौका पाएको मुम्बईले २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। सुर्यकुमार यादवले सर्वाधिक ५७ रन बनाउँदा रायन रिकेल्टनले २७ तथा हार्दिक पाण्ड्याले २६ रनको योगदान दिए।
पञ्जाबको बलिङमा अर्शदीप सिंह र मार्को यानसेनले समान २-२ विकेट लिए। विजयकुमार वाइशाकले २ तथा हरप्रीत ब्रारले १ विकेट हात पारे।
जितसँगै पञ्जाब १४ खेलबाट १९ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। मुम्बई भने चौथो स्थानमा रहेर इलिमिनेटर खेल्नेछ।
अब पहिलो क्वालिफायरमा पञ्जाबसँग प्रतिस्पर्धा गर्ने अर्को टोलीको टुंगो आज लखनउ र बेंगलुरुबीच हुने अन्तिम लिग खेलपछि लाग्नेछ। यदि बेंगलुरु विजयी भएमा उसले क्वालिफायर खेलेर शीर्ष दुईमा स्थान बनाउनेछ । पराजित भएमा गुजरात टाइटन्स पहिलो क्वालिफायरमा पुग्नेछ।