सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
लाहोर : शाहिन शाह अफ्रिदीको कप्तानीमा रहेको लाहोर कलान्दर्सले पाकिस्तान सुपर लिग (एचबीएल पीएसएल एक्स) को उपाधि जितेको छ। आइतबार राति गद्दाफी स्टेडियममा भएको रोमाञ्चक फाइनलमा लाहोरले क्वेटा ग्लाडिएटर्सलाई ६ विकेटले पराजित गर्दै चार वर्षमा तेस्रो पटक उपाधि जित्न सफल भयो।
यो जितसँगै लाहोर इस्लामाबाद युनाइटेडपछि तीन पीएसएल उपाधि जित्ने दोस्रो टोली बनेको छ। साथै, २०२ रनको सफल रनचेज गर्दै कुनै पनि टी–२० फाइनलमा सबैभन्दा ठूलो लक्ष्य पछ्याएर जित्ने कीर्तिमान समेत कायम गर्यो।
परेरा र सिकन्दरको संयमित साझेदारीले जित दिलायो लाहोरको जितमा कुसल परेराको अविजित ६२ रन र सिकन्दर राजाको २२ रन (७ बल) निर्णायक बने। दुवैले १९ बलमा ५९ रनको साझेदारी गर्दै टिमलाई लक्ष्यसम्म पुर्याए।
१७औं ओभरमा सिकन्दरले मोहम्मद आमिरका पहिलो दुई बलमा चौका र छक्का प्रहार गर्दै खेलको मोड परिवर्तन गरे। त्यसपछि परेराले १८औं ओभरमा दुई छक्का र एक चौका हिर्काउँदै आवश्यक रनरेटर घटाए। अन्तिम ओभरमा १३ रन चाहिएको अवस्थामा राजाले छक्का र चौका प्रहार गर्दै खेल सकाए।
नइमको विस्फोटक सुरुवात, शफिकको साथ पहिलो विकेटका लागि नइम र फखर जमनले ३९ रनको साझेदारी गरे। नइमले २७ बलमा ४६ रन बनाउँदै सुरुवातमै खेलको लय आफ्नो पक्षमा तान्न सफल भए। उनले लगातार चार छक्का प्रहार गरे। शफिकले पनि २८ बलमा ४१ रन बनाए।
क्वेटाको बलियो प्रदर्शन, तर अन्त्यमा रोकिए पहिले ब्याटिङ गरेको क्वेटा ग्लाडिएटर्सले २०१ रन बनायो। हसन नवाजले ७६ रन बनाए भने अविश्का फर्नान्डोले २९ रन जोडे। अन्तिम ओभरमा फहीम अशरफले ८ बलमा २८ रन जोड्दै टोलीलाई २०० पार गराए।
तर अन्तिम दुई ओभरमा लाहोरका शाहिन अफ्रिदी र हारिस रउफले दुई–दुई विकेट लिँदै क्वेटालाई २०१–९ मा रोक्न सफल भए।
शाहिन अफ्रिदीको कप्तानीमा उत्कृष्ट प्रदर्शन लाहोरका कप्तान शाहिन अफ्रिदीले ४ ओभरमा २४ रन दिएर ३ विकेट लिए। उनी प्रतियोगिताका सर्वाधिक विकेट लिने खेलाडी (१९ विकेट) पनि बने। सलमान मिर्जा र हारिस रउफले दुई–दुई विकेट लिए।
पुरस्कार राशिः विजेता लाहोर कलान्दर्सले ५ लाख अमेरिकी डलर पुरस्कार प्राप्त गर्यो।
उपविजेता क्वेटा ग्लाडिएटर्सले २ लाख अमेरिकी डलर प्राप्त गर्यो।