सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:आइपीएलको रोमाञ्चक भिडन्तमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)लाई ४२ रनले पराजित गर्दै सशक्त प्रदर्शन गरेको छ।
पहिले ब्याटिङ गर्दै सनराइजर्सले इशान किशनको धुवाँधार पारीको मद्दतले २० ओभरमा ६ विकेट गुमाएर २३१ रनको विशाल योगफल खडा गर्यो। जवाफी इनिङमा आरसीबीका फिल साल्ट र विराट कोहलीले आक्रामक सुरुवात गरे पनि टोली १९.५ ओभरमै १८९ रनमा समेटियो।
आरसीबी पहिल्यै प्लेअफमा पुगिसकेको भए पनि यस हारले शीर्ष दुईमा पुग्ने सम्भावनामा गम्भीर धक्का पुर्याएको छ।
उत्कृष्ट सुरुवात, तर... २३२ रनको लक्ष्य पछ्याउन उत्रिएको आरसीबीका ओपनर साल्ट र कोहलीले प्रारम्भिक आक्रमणमा सनराइजर्सलाई दबाबमा पारे। ६ ओभरको समाप्तिमा टोलीले बिना विकेट ७२ रन जोडेको थियो। तर सात चौका र एक छक्कासहित २५ बलमा ४३ रन बनाएका विराट कोहलीलाई हर्ष दुबेले आउट गर्दै खेलको मोड बदलिदिए।
कोहली र साल्टबीच पहिलो विकेटका लागि ८० रनको साझेदारी भएको थियो। कोहली आउट भए पनि साल्टले पारीलाई गती दिंदै २७ बलमा अर्धशतक पुरा गरे। उनले ३२ बलमा चार चौका र पाँच छक्कासहित ६२ रन बनाएका थिए, तर प्याट कमिन्सले उनलाई आउट गरेपछि आरसीबीको पारी बिस्तारै धराशायी बन्यो।
बलरहरूको उत्कृष्ट पुनरागमन १५ ओभरसम्म ३ विकेटमा १६७ रन बनाएको आरसीबीलाई जितका लागि ३० बलमा ६५ रन आवश्यक थियो। तर त्यसपछि सनराइजर्सका बलरहरूले उत्कृष्ट पुनरागमन गर्दै विकेटको झरना लगाए।
रजत पाटीदार रन आउट भए, इशान मालिंगाले रोमारियो शेफर्डलाई शून्यमा आउट गरे। त्यसपछि जयदेव उनाडकटले जितेश शर्मालाई समाते, जसले १५ बलमा २४ रन बनाएका थिए। टिम डेभिड पनि इशान मालिंगाकै बलमा आउट भए।
कमिन्सले भुवनेश्वर कुमार र कृणाल पाण्ड्यालाई पनि आउट गर्दै आरसीबीको पुछार सम्हाले। कृणाल पाण्ड्या हिट विकेट भएर आउट भए।
कमिन्सले ३ विकेट लिए भने मालिंगाले २ विकेट लिए। अन्य बलरहरू हर्षल पटेल, उनाडकट, हर्ष दुबे र नितिश रेड्डीले समान १-१ विकेट लिए।
इशान किशनको चम्किलो प्रदर्शन यसअघि, टस हारेर ब्याटिङ थालेको सनराइजर्सलाई ओपनर अभिषेक शर्मा र ट्राभिस हेडले तीव्र सुरुवात दिलाए। अभिषेकले १७ बलमा ३ चौका र ३ छक्कासहित ३४ रन बनाए भने हेडले १० बलमा १७ रन जोडे।
त्यसपछि इशान किशनले जिम्मेवारी सम्हाल्दै आक्रमक ब्याटिङ गरे। उनले ४८ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै अविजित ९४ रन बनाए। उनलाई साथ दिन आएका अनिकेत वर्माले पनि ९ बलमा २६ रन बनाउँदै सहयोग गरे।
शेफर्डले सनराइजर्सका लागि दुई विकेट लिए भने एनगिडी, कृणाल, सुयश र भुवनेश्वरले एक-एक विकेट लिए।
तालिकामा हेरफेर आरसीबीको हारसँगै पञ्जाब किंग्सले फाइदा उठाउँदै दोस्रो स्थान कब्जा गरेको छ। शीर्ष स्थानमा १३ खेलमा १८ अंक बटुलेको गुजरात छ। पञ्जाब र आरसीबी दुवैको १७-१७ अंक भए पनि पञ्जाबको दुई खेल बाँकी छन् भने आरसीबीको एक मात्र खेल बाँकी छ। मुम्बई इन्डियन्स १६ अंकसहित चौथो स्थानमा छ।