सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले अभ्यास खेलहरूमा शानदार लय कायम राख्दै चौथो जित निकालेको छ। बिहीबार राति सम्पन्न टी–२० अभ्यास खेलमा नेपालले ग्लोसेस्टरशायर क्लबलाई ५ विकेटले पराजित गरेको हो।
आसिफ शेखको विस्फोटक प्रदर्शन १६९ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली ओपनर आसिफ शेखले धमाकेदार प्रदर्शन गरे। उनले ४२ बलमा १३ चौका र १ छक्का प्रहार गर्दै अविजित ८४ रनको इनिङ खेले। यो बेलायत भ्रमणमा उनको पहिलो अर्धशतकीय पारी हो।
नेपालले १४.२ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य हासिल गरेको हो। खेलको सुरुआतमा नेपालले ५२ रन बनाउँदा ३ विकेट गुमाएको अवस्था थियो। तर त्यसपछि शेख दाजुभाइ ९आसिफ र आरिफ० को साझेदारीले नेपाललाई जितसम्म पुर्यायो। आरिफ शेखले १९ बलमा ३० रन बनाए भने अनिलकुमार साहले १८ र गुलशनकुमार झाले १७ रनको योगदान गरे।
ग्लोसेस्टरशायरको इनिङ र नेपाली बलिङ पहिले ब्याटिङ गरेको ग्लोसेस्टरशायरले २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो। नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभरमा ३८ रन खर्चिए। त्यस्तै, नन्दन यादवले २ विकेट लिँदा सन्दीप लामिछाने र ललितनारायण राजवंशीले १–१ विकेट लिए।
पहिलो खेलमा पनि नेपाल विजयी बिहीबार नै सम्पन्न पहिलो टी–२० अभ्यास खेलमा नेपालले ग्लोसेस्टरशायरलाई ७३ रनले पराजित गरेको थियो। यसअघि नेपालले एकदिवसीय अभ्यास खेलमा न्यू पोर्ट क्लबलाई ३ विकेटले तथा एमसीसीलाई १२३ रनले पराजित गरेको थियो।
अगामी कार्यक्रमहरू नेपालले अब २६ मेमा ग्लामोर्गन क्लबविरुद्ध एकदिवसीय अभ्यास खेल खेल्नेछ। त्यसपछि नेपाली टिम स्कटल्याण्ड प्रस्थान गर्नेछ, जहाँ मे २९ र ३१ मा स्कटल्याण्ड ‘ए’ विरुद्ध दुई एकदिवसीय अभ्यास खेल हुनेछ।
लिग–२ मा चुनौति आइसिसी विश्वकप लिग–२ अन्तर्गत जुन २ बाट सुरु हुने त्रिकोणात्मक सिरिजमा नेपालले स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। हालसम्म १२ खेलमा केवल ६ अंकसहित नेपाल लिग तालिकाको पुछारमा छ। यस सन्दर्भमा यो भ्रमण नेपाली क्रिकेटको पुनर्निर्माणको अवसरको रूपमा हेरिएको छ।