सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफ पुग्ने चार ओटै टाेलीकाे टुङ्गो लागेकाे छ ।
बुधवार राती भएकाे खेलमा दिल्ली क्यापिटल्समाथि ५९ रनकाे शानदार जित हात पार्दै मुम्बई इन्डियन्सले अन्तिम चारमा स्थान बनाएकाे हाे । १८१ रनको लक्ष्य पाएको दिल्ली १८.२ ओभरमा १२१ रनमै समेटियो। दिल्लीका लागि समीर रिज्वीले सबैभन्दा बढी ३९ र
न जोडे भने विपराज निगमले २० र आशुतोष शर्माले १९ रन बनाए। मुम्बईका बलरहरू निकै धारिलो देखिए। मिचेल सान्टनरले ४ ओभरमा मात्र ११ रन दिँदै ३ विकेट लिए भने जसप्रित बुमराहले ३.२ ओभरमा १२ रन दिँदै ३ विकेट झारे। त्यस्तै ट्रेन्ट बोल्ट, दीपक चहर, विल ज्याक्स र करण शर्माले पनि १-१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १८० रन बनायो। सुर्यकुमार यादवले अविजित ७३ रनको प्रभावशाली पारी खेले। नमन धिर पनि २४ रनमा अविजित रहे। त्यस्तै तिलक वर्माले २७ र रायन रिकेल्टनले २५ रनको योगदान दिए।
१८ ओभरमा मुम्बई १३२-५ को स्थितिमा थियो। तर अन्तिम दुई ओभरमा आक्रामक ब्याटिङ गर्दै टोलीले ४८ रन थप्न सफल भयो—१९औं ओभरमा २७ र २०औं ओभरमा २१ रन जोडिएको थियो।
दिल्लीका लागि मुकेश कुमारले २ विकेट लिए भने दुश्मान्था चमीरा, मुस्तफिजुर रहमान र कुलदीप यादवले १-१ विकेट हात पारे।
यो जितसँगै मुम्बईले १३ खेलबाट १६ अंक बनाउँदै चौथो स्थानमा रहँदै प्लेअफको यात्रा तय गरेको छ। अर्कोतर्फ, दिल्लीले १३ खेलबाट १३ अंक मात्र जोड्न सकेको छ र प्लेअफको दौडबाट बाहिरिएको छ।
यसअघि नै गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्स प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन्। अब यी टोलीहरू शीर्ष दुईमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन्। शीर्ष दुई टिमले क्वालिफायर १ खेल्नेछन् भने तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ।