dosa dosa

ग्लोबल छनोटमा स्थान बनाएको महिला क्रिकेट टोली आज स्वदेश फर्किँदै

बुधबार, जेठ ७, २०८२

काठमाडौं :आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गर्न सफल नेपाली राष्ट्रिय महिला क्रिकेट टोली ऐतिहासिक उपलब्धिसहित आज साँझ स्वदेश फर्किँदैछ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार, टोली आज साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

नेपालले एसिया क्षेत्र छनोट प्रतियोगितामा उपविजेता बन्ने क्रममा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो पटक महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको हो।

मंगलबार सम्पन्न सुपर थ्री चरणको अन्तिम खेलमा थाइल्यान्डसँग पराजित भए पनि नेपालले उपविजेता बन्न सफल भयो, जसले ग्लोबल छनोटको ढोका खोलेको हो।
त्यसअघि नेपालले युएईलाई पाँच विकेटले हराउँदै छनोटमा स्थान पक्का गरिसकेको थियो।

पहिलो पटक विश्वकपको नजिक पुगेको नेपाली महिला टोली :
नेपालले यसअघि टी–२० विश्वकपको ग्लोबल छनोट कहिल्यै खेल्न पाएको थिएन। यसपटक समूह चरणमा नेपालले बहराइनलाई दुई खेलमा सहजै पराजित गर्‍यो, भने हङकङसँग एक खेलमा हार र अर्को खेल वर्षाका कारण रद्द भएको थियो।

अब नेपालले विश्वकप पुग्नका लागि ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नुपर्नेछ, जहाँ कुल १० टोली सहभागी हुनेछन्।
ग्लोबल छनोटमा शीर्ष चारमा पर्ने टोलीले २०२६ मा इङ्ल्यान्ड र वेल्समा आयोजना हुने महिला टी–२० विश्वकप खेल्न पाउनेछ।

यी हुन विश्वकपमा सिधै छनौट भएका टोलीहरु :
२०२६ को विश्वकपमा आयोजक इङ्ल्यान्डसहित अष्ट्रेलिया, भारत, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, पाकिस्तान र श्रीलंका सिधै छनोट भइसकेका छन्। बाँकी दुई स्थानका लागि प्रतिस्पर्धा अब ग्लोबल छनोटमा हुनेछ

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  ११:०८
प्रतिक्रिया दिनुहोस्