सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ: आइसीसी महिला टि–२० विश्वकपको एसिया क्षेत्र छनोट अन्तर्गतको उपाधि भिडन्तमा थाइल्याण्डले नेपाललाई जीतका लागि १५९ रनको विशाल लक्ष्य दिएको छ।
काठमाडौं समय अनुसार बिहानै सम्पन्न टसमा नेपालले पहिले फिल्डिङ गर्ने निर्णय लिएको थियो। तर, थाइल्याण्डका ओपनरहरूको सशक्त प्रदर्शनका अगाडि नेपाली बलिङ आक्रमण प्रभावहीन देखियो।
थाइल्याण्डले निर्धारित २० ओभरमा जम्मा २ विकेट गुमाउँदै १५८ रनको ठूलो योगफल तयार गर्यो। ओपनर नाताया बुचाथाम र नानापात कोन्चरोएन्काइले उत्कृष्ट अर्धशतक प्रहार गर्दै टोलीको स्कोर मजबुत बनाएका थिए।
ओपनिङ जोडीको सशक्त साझेदारी थाइल्याण्डको इनिङ अफिसर सुवान्चोनराठी र नाताया बुचाथामको साझेदारीबाट जमेको थियो। पहिलो विकेटका लागि दुवैले ७५ रनको ओपनिङ साझेदारी गर्दै थाइल्याण्डको इनिङलाई स्थायीत्व दिएका थिए। अफिसरले ४३ बलमा २९ रन बनाइन् भने नातायाले ४२ बलमा ५ चौकाको मद्दतमा ५० रन जोडिन्। उनी मनिषा उपाध्यायको बलमा क्याच आउट भइन्।
पछि ब्याटिङमा आएकी नानापातले २८ बलमा ८ चौका प्रहार गर्दै अविजित ५० रन बनाइन्। अन्त्यतिर नाथाकन चनथमले पनि ९ बलमा २ चौकासहित १४ रनको योगदान दिइन्।
नेपालका लागि मनिषा उपाध्याय र राजमती ऐरीले एक–एक विकेट लिइन्, तर थाइल्याण्डको आक्रामक ब्याटिङमाथि नियन्त्रण जमाउन सकिएन।
इतिहास रच्ने संघारमा नेपाल यसै प्रतियोगिताको सुपर थ्री चरणमा नेपालले युएईलाई हराउँदै ऐतिहासिक रुपमा विश्वकप ग्लोबल छनोटमा स्थान सुरक्षित गरिसकेको छ। सोमबारको पाँच विकेटको विजयले नेपाललाई आत्मविश्वास दिएको छ।
हालसम्म थाइल्याण्ड ८ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल ७ अंकका साथ दोस्रो स्थानमा छ। युएई ६ अंकमा सिमित बनेको छ।
आजको खेल नेपालको लागि 'डबल अवसर' पहिलो लक्ष्य ग्लोबल छनोटमा पुग्नु थियो, जुन नेपालले हासिल गरिसकेको छ। अब, अर्को लक्ष्य उपाधि जित्नु हो। कप्तान इन्दु वर्माले टिम उच्च मनोबलमा रहेको बताउँदै उपाधि उचाल्ने विश्वास व्यक्त गरेकी छन्।
समूह चरणमा नेपालले बहराइनविरुद्ध दुईवटै खेल जितेको थियो भने हङकङसँग हार व्यहोरेको थियो। वर्षाले प्रभावित खेलहरूको कारण अंकतालिका नेपालकै पक्षमा रह्यो र नेपाल सुपर थ्रीमा शीर्ष स्थानबाट प्रवेश गर्न सफल भयो।
अब हेर्न बाँकी छ – के नेपालले बलियो थाइल्याण्डलाई पराजित गर्दै एसिया छनोटको उपाधि पनि आफ्नो पोल्टोमा पार्न सक्छ?