yt yt

यूएईले नेपालसामु दियो ११५ रनको चुनौतीपूर्ण लक्ष्य 

सोमबार, जेठ ५, २०८२

काठमाडौ:आईसीसी महिला टी–२० विश्वकपको एसियाली क्षेत्र छनोटको सुपर–३ चरणमा नेपालले यूएईसँग ११५ रनको लक्ष्य पाएको छ।

थाइल्यान्डको टेर्डथाई मैदानमा सोमबार भएको खेलमा टस जितेकी नेपालकी कप्तान इन्दु बर्माले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनायो।

यूएईका लागि ओपनर इशा ओझाले उत्कृष्ट प्रदर्शन गर्दै ३९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३९ रन जोडिन्। अर्की ओपनर तीर्थ सतीशले ३२ बलमा २१ रनको योगदान दिइन्।

नेपालका लागि मनिषा उपाध्यायले धारिलो बलिङ गर्दै ४ विकेट लिइन् र यूएईलाई ठूलो स्कोर गर्नबाट रोकिन्।

यो खेल नेपालका लागि निकै महत्त्वपूर्ण छ, किनभने जित हात पार्न सकेमा नेपालले टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने सम्भावना बलियो हुनेछ। प्रतियोगिताको अर्को खेलमा आयोजक थाइल्यान्डले यूएईलाई ४५ रनले पराजित गरिसकेको छ र सुपर–३ को एक खेल बाँकी छँदै ग्लोबल छनोटमा स्थान बनाइसकेको छ।

नेपाल समूह ‘सी’को विजेता हो भने थाइल्यान्ड समूह ‘ए’ र यूएई समूह ‘बी’को विजेता टिम हुन्। सुपर–३ चरणमा सहभागी तीन टोलीबीच एक–एक खेल हुनेछ। नेपालले अबको खेल मंगलबार थाइल्यान्डसँग खेल्नेछ।

प्रतियोगिताको शीर्ष दुई टिमले आगामी टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछन्, जहाँ हालसम्म बंगलादेश, स्कटल्यान्ड र अमेरिका टिमको सहभागिता पक्का भइसकेको छ।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १०:३४
प्रतिक्रिया दिनुहोस्