सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : भारतीय क्रिकेटका दुई स्तम्भ, रोहित शर्मा र विराट कोहलीले क्रमशः ७ र १२ मेमा टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरे। उनीहरूको विदाईसँगै टिम इन्डियामा नेतृत्वको अभाव देखिएको छ । रोहित शर्मा पछिल्लो चार वर्षदेखि टेस्ट टिमका कप्तान थिए भने विराट कोहलीको नेतृत्वमा भारतले आठ वर्षको अवधिमा विदेशमा १५ टेस्ट जितेको थियो। हाल टिममा रहेका केही मात्र वरिष्ठ खेलाडीहरू—जसप्रीत बुमराह, केएल राहुल, मोहम्मद शमी र रवीन्द्र जडेजा—मात्र बाँकी छन्। तीमध्ये राहुल र बुमराहसँग कप्तानीको अनुभव छ। उता युवा खेलाडीहरू शुभमन गिल र ऋषभ पन्त पनि कप्तान बन्ने दौडमा छन्।
भारतको अर्को टेस्ट कप्तान को बन्ने? १. जसप्रीत बुमराहः प्रमुख दाबेदार, तर फिटनेस चिन्ता बुमराहले अष्ट्रेलिया भ्रमणमा दुई टेस्टमा कप्तानी गरिसकेका छन्। पर्थ टेस्टमा भारतले जित हात पारेको थियो, तर सिड्नी टेस्ट अष्ट्रेलियाले जितेको थियो। उक्त खेलको पहिलो इनिङमै बुमराहलाई ब्याक स्पास्मको समस्या देखिएपछि उनी बलिङ गर्न सकेनन्।
बुमराहको फिटनेस सधैं चिन्ताको विषय रहँदै आएको छ। सन् २०२२ पछि उनी १५ महिनासम्म क्रिकेटबाट बाहिर रहे। लामो टेस्ट सिरिजमा उनलाई विश्राम दिन आवश्यक पर्ने हुँदा, स्थायी कप्तानको रूपमा चयन गर्न कठिन देखिन्छ।
यदि बुमराह कप्तान बने भने, टिमले कम्तीमा १–२ जना उपकप्तान नियुक्त गर्नुपर्ने हुन्छ। केही रिपोर्टहरू अनुसार बुमराहले स्वास्थ्यको कारण देखाउँदै कप्तानी अस्वीकार गरिसकेका छन्।
२. ऋषभ पन्तः इंग्ल्यान्डमा शतक प्रहार गरिसकेका एक्ला विकेटकीपर हालको टिममा स्थायी रूपमा प्लेइङ–११ मा पर्ने थोरै खेलाडीमध्ये ऋषभ पन्त एक हुन्। पछिल्लो ६ वर्षमा उनी विश्वकै उत्कृष्ट विकेटकीपर ब्याटर बन्न सफल भएका छन्। उनले अष्ट्रेलिया, दक्षिण अफ्रिका र इंग्ल्यान्डमा शतक प्रहार गरेका छन्।
यद्यपि, पन्तलाई कप्तान बनाउनु केही हदसम्म जोखिमपूर्ण निर्णय हुन सक्छ, किनभने उनको ब्याटिङ शैली जोखिमपूर्ण हुन्छ। उनले भारतका लागि कुनै पनि फम्र्याटमा कप्तानी गरिसकेका छैनन्, तर आईपीएल र घरेलु क्रिकेटमा उनलाई अनुभव प्राप्त छ।
३. शुभमन गिलः भविष्यका कप्तानका लागि बलियो दावेदार शुभमन गिल कप्तानीको दौडमा बुमराहपछि अगाडि देखिन्छन्। उनी वनडे र टी–२० मा कप्तानी गरिसकेका छन्। यशस्वी, पन्त र गिल युवा ब्याटरका रूपमा स्थायी खेलाडीहरू हुन्। शुभमन अहिले २५ वर्षका छन्—यही उमेरमा विराट कोहलीले पनि कप्तानी सुरु गरेका थिए।
यदि उनलाई तुरुन्त कप्तान नबनाए पनि उपकप्तान बनाएर भविष्यको नेतृत्वको लागि तयार पार्न सकिन्छ। उनले कठिन पिचहरूमा पाँच शतक प्रहार गरेर आफ्नो क्षमताको प्रमाण दिइसकेका छन्।
४. केएल राहुलः स्थिर कप्तानीको विकल्प केएल राहुल पछिल्लो पाँच वर्षमा विदेशी पिचहरूमा भारतका लागि शीर्ष ब्याट्सम्यानका रूपमा उभिएका छन्। उनले दक्षिण अफ्रिका, अष्ट्रेलिया र इंग्ल्यान्डमा ओपनिङ गर्दै शतक बनाएका छन्।
राहुलसँग तीन टेस्टमा कप्तानीको अनुभव छ, जसमा दुई जित भारतले हात पारेको थियो। यदि टिम म्यानेजमेन्ट स्थिर र अनुभवी कप्तान चाहन्छ भने राहुल उत्कृष्ट विकल्प हुन सक्छन्। उनलाई इंग्ल्यान्ड सिरिजका लागि कप्तान बनाउँदै शुभमनलाई तयार पार्न सकिन्छ।
इंग्ल्यान्ड भ्रमणः पहिलो टेस्ट २० जूनमा हेडिङ्लेमा भारतीय टिम जुन महिनामा इंग्ल्यान्ड भ्रमणमा निस्कनेछ। पहिलो टेस्ट २० जूनमा हेडिङ्ले मैदानमा हुनेछ र दौरा ४ अगस्टसम्म चल्नेछ। विराट कोहलीको कप्तानीमा भारतले अघिल्लो इंग्ल्यान्ड सिरिज २–२ बराबरीमा सकाएको थियो।