yt yt

टेस्ट टोलीमा नपर्ने संकेतपछि कोहलीले सन्यास लिएको खुलासा

बिहीबार, जेठ १, २०८२

काठमाडौँ : भारतका पूर्वक्रिकेटर मोहम्मद कैफले विराट कोहलीको टेस्ट क्रिकेटबाट संन्यास पछाडि रहेको मुख्य कारणको खुलासा गरेका छन्। उनका अनुसार कोहली अझै टेस्ट क्रिकेट खेल्न तयार थिए, तर अजित अगरकरको नेतृत्वमा रहेको चयन समितिबाट अपेक्षित समर्थन नपाएपछि उनले सन्यासको निर्णय गरेका हुन्।
कोहलीले १२ मेमा सामाजिक सञ्जालमार्फत टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका थिए। यद्यपि, उनले आफ्नो निर्णयको स्पष्ट कारण भने उल्लेख गरेका थिएनन्। तर कैफका अनुसार, कोहलीको मनोबल चयनकर्ताको व्यवहारले नै घटाएको हो।
रणजी ट्रफीमार्फत टेस्टमा फर्कन चाहेका थिए
कैफले एक अन्तर्वार्तामा भने, “मलाई लाग्छ उनी अझै टेस्ट खेल्न चाहन्थे। अष्ट्रेलिया भ्रमणपछि उनले रणजी ट्रफी खेले, जुन संकेत हो कि उनी टेस्ट टिममा फर्कन चाहन्थे। उनले बीसीसीआई र चयनकर्ताहरूसँग छलफल गरेका थिए होला। तर, पछिल्ला केही वर्षको प्रदर्शनका आधारमा चयनकर्ताले उनलाई टोलीमा स्थान नदिने संकेत दिए।”
पाँच वर्षमा तीन शतक मात्र
पछिल्ला पाँच वर्षमा कोहलीले ६८ टेस्ट इनिङमा २०२८ रन बनाएका छन् र केवल तीनवटा शतक प्रहार गरेका छन्। उनको टेस्ट औसत घट्दै ४६ मा झरेको छ। पर्थमा एक शानदार शतक बनाएपछि केही आशा देखिए पनि बाँकी खेलहरूमा उनी निरन्तर संघर्षरत देखिए।
टेस्ट क्रिकेटप्रति चासो घट्दै गएको संकेत
कैफका अनुसार, अष्ट्रेलिया भ्रमणका क्रममा कोहलीको ब्याटिङ शैलीबाट यस्तो देखिन्थ्यो कि उनी अब टेस्ट क्रिकेटप्रति पूर्ण रूपमा समर्पित थिएनन्। “उनले छिटो रन बनाउने प्रयास गरिरहेका थिए। धैर्यपूर्वक खेल्ने कोहली अब बारम्बार बाहिरी बलमा ड्राइभ खेल्ने प्रयासमा आउट भइरहेका थिए,” उनले भने। 
 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  ०८:३३
प्रतिक्रिया दिनुहोस्