yt yt

जित्नै पर्ने दबाबमा नेपालले बहराइनसंग खेल्दै

बिहीबार, जेठ १, २०८२

काठमाडौँ: आइसीसी महिला टी–२० विश्वकपको एशिया छनोट अन्तर्गत नेपालले आज समूह ‘सी’ अन्तर्गत बहराइनसँग महत्त्वपूर्ण खेल खेल्दैछ। थाइल्याण्डमा जारी प्रतियोगिताको यो खेल नेपाली समय अनुसार दिउँसो १२:३५ बजे सुरु हुनेछ।

सुपर थ्री चरणमा पुग्न नेपाललाई जित अत्यावश्यक छ, भने समूहको अन्य समीकरणले पनि नेपाली टिमको भाग्य निर्धारण गर्नेछ। नेपालले हङकङ चाइनासँगको पहिलो खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको थियो। दोस्रो खेलमा नेपालले बहराइनलाई सहजै पराजित गरे पनि तेस्रो खेलमा हङकङसँग पराजय भोगेको थियो।

बहराइनले अहिलेसम्म दुई खेल खेलेको छ, जसमा एक खेलमा पराजित भएको छ भने अर्को वर्षाले प्रभावित हुँदा अंक बाँडिएको थियो।

समूह 'सी'मा नेपालसँगै बहराइन र हङकङ चाइना रहेका छन्। समूह ‘ए’ मा भुटान, कुवेत र आयोजक थाइल्याण्ड छन् भने समूह ‘बी’ मा मलेसिया, कतार र युएई प्रतिस्पर्धी छन्। हरेक समूहको शीर्ष स्थानमा रहेका टिमले सुपर थ्री चरणमा स्थान बनाउनेछन्।

सुपर थ्रीमा पुगेपछि तीनवटा टिमले राउण्ड रोबिन आधारमा एक–अर्काविरुद्ध खेल्ने छन्। त्यसपछिका शीर्ष दुई टिम ग्लोबल क्वालिफायरमा पुग्नेछन्, जहाँ विश्वकपमा स्थान बनाउने लक्ष्य हुनेछ।

नेपाल क्रिकेट संघ (क्यान) ले एशिया छनोटका लागि इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ। टिममा इन्दु बर्मा (कप्तान), पुजा महतो (उपकप्तान), रोमा थापा, रुबी पोडार, रुबिना क्षेत्री, कबिता कुँवर, बिन्दु रावल, सबनम राई, कविता जोशी, इश्वरी बिष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमती ऐरी र रिया शर्मा रहेका छन्।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  ०८:०८
प्रतिक्रिया दिनुहोस्