त्रिवि मैदानमा फ्लड लाइट जोड्न अझै दुई महिना लाग्ने

मंगलबार, वैशाख २३, २०८२

काठमाडौँ :कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशाला निर्माणको काम थप दुई महिना लम्बिने भएको छ ।

निर्माण व्यवसायीले सम्बन्धित निकायबीचको समन्वयमा समय लागेकाले समयमा बोलपत्र आव्हान हुन नसकेको, प्राविधिक कारणले डिजाइनमा सामान्य परिवर्तन भएको, केही दिन वर्षाले काम अवरोध भएको, एलसी खोल्ने प्रक्रियामा ढिलाइ भएको जस्ता कारणले सम्झौता बमोजिम तोकिएको अवधिमा काम हुन नसकेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रुपमा ३०० दिनभत्र उक्त क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लड लाइट जडान गर्ने घोषणा गर्नुभएको थियो । उक्त ३०० दिन यही वैशाख २४ गते सकिँदैछ । ती दुई कामका लागि फरक फरक ठेकेदार कम्पनीसँग क्रमशः गत पुस १९ र २२ गते सम्झौता भएको थियो ।

समयमा काम सम्पन्न हुन नसक्ने देखिएपछि प्रधानमन्त्री ओलीले प्यारापिट र फ्लडलाइट जडान कार्य तोकिएको समयमा सम्पन्न हुन नसकेको विषयमा सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीलाई डाकेर छलफल गरेका छन् । उनीहरुले काममा ढिलाई भएको स्वीकार्दै अबको एक महिनाका काम सक्ने प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्री ओलीले कुन लापर्वाही, कमजोरी वा के कारणले समयमा काम हुन सकेन र अब कति दिनमा गुणस्तरीयरुपमा काम पूरा हुन्छ भन्ने यकिन गर्न र आगामी दुई महिनाभित्र सम्पन्न गर्न कडा निर्देशन दिएका छन् ।

प्यारापेटतर्फ वित्तीय प्रगति ४५.१९ र भौतिक प्रगति ५५ प्रतिशत तथा फ्लड लाइटतर्फ वित्तीय प्रगति २३.८१ र भौतिकतर्फ ३५ प्रतिशत प्रगति भएको प्रधानमन्त्री ओलीलाई जानकारी गराइयो ।

प्यारापेटका लागि रु ४९ करोड २५ लाख ६७ हजार तीन सय दुई र फ्लडलाइटका लागि रु ४७ करोड ३७ लाख ६८ हजार ७७ मा सम्झौता गरिएको थियो । 

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १०:००
प्रतिक्रिया दिनुहोस्