आसामलाई हराउँदै पुलिस फाइनलमा

बिहीबार, वैशाख १८, २०८२

विराटनगर :नेपाल पुलिस क्लब विराटनगरमा जारी तेस्रो मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

बिहीबार गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा पुलिसले भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।

समूह ‘बी’ अन्तर्गत नेपाल पुलिस, आसाम र कोशी प्रदेश तीनै टिमले दुई खेलमा समान एक जित र एक हारका साथ दुई–दुई अंक जोडेका थिए। तर, नेट रन रेटको आधारमा पुलिसले समूह विजेता बन्दै फाइनलमा स्थान सुरक्षित गर्‍यो। यसअघि समूह ‘ए’ बाट त्रिभुवन आर्मी क्लब फाइनलमा पुगेको छ। फाइनल खेल शनिबार हुनेछ।

टस जितेर पहिले ब्याटिङ गरेको आसामले ५० ओभरको खेलमा ४२.२ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनायो। आसामका लागि राज विश्वाले ३३ रन, अरुण सोनारले ३१ रन, केभिन सञ्जिव क्रिस्टोफरले २३ रन, हियेन कश्यपले १९ रन र कप्तान गोकुल शर्माले १० रन बनाए।

नेपाल पुलिसका लागि श्रवण यादव र अरुण ऐरीले समान ३–३ विकेट लिए।

जवाफमा १५५ रनको लक्ष्य पछ्याएको पुलिसले २८ ओभरभित्र जित हासिल गर्नुपर्ने अवस्थामा २६.१ ओभरमै लक्ष्य पार गर्‍यो। एक समय ६.२ ओभरमा ४३ रनमै ४ विकेट गुमाएर संकटमा परेको पुलिसलाई कप्तान अमित श्रेष्ठ र शंकर रानाले सम्हाले।

दुवैले पाँचौँ विकेटका लागि अविजित ११७ रनको साझेदारी गरे। कप्तान श्रेष्ठले ७२ बलमा ३ छक्का र ५ चौकासहित अविजित ७१ रन बनाए भने रानाले ६७ बलमा ४ चौका र ४ छक्कासहित अविजित ६३ रनको योगदान गरे।

आसामका कप्तान गोकुल शर्माले ३ विकेट लिए। उत्कृष्ट प्रदर्शनका लागि अमित श्रेष्ठ ‘प्लेयर अफ द म्याच’ घोषित भए।

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १९:५२
प्रतिक्रिया दिनुहोस्