सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
विराटनगर :तेस्रो संस्करणको मनमोहन स्मृति एमएम कप एकदिवसीय क्रिकेट प्रतियोगितामा साविक विजेता आर्मीले संघर्षपूर्ण जित निकालेको छ ।
शनिबार भएको उद्घाटन खेलमा साविक विजेता विभागिय आर्मीले अर्को विभागिय टोली एपिएफलाई २ विकेटले पराजित गरेको हो । १ सय ३१ रनको झिनो लक्ष्य पाएको आर्मीले ३७.२ ओभरमा ८ विकेट गुमाएर भेट्टायो । आर्मीको जितमा प्लेयर अफ द म्याच नरेन साउदले ८४ बलमा ७ चौका प्रहार गर्दै ६४ रनको योगदान दिँदा सुमित श्रेष्ठले अविजित २१ रन र पवन कार्कीले अविजित १० रनको योगदान दिए । एपिएपका दिवन पुनले ३ विकेट लिँदा कप्तान भुवन कार्की र विकाश अग्रिले २–२ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङमा तानिएकोे एपिएफले निर्धारित ५० ओभरको खेलमा ४४ दशमलव ३ बलमा सवै विकेट गुमाई १ सय ३० रनको झिनो योगफल बनाएको थियो । एपिएफका प्रकाश जैशीले अविजित ३४ रन बनाउँदा कप्तान भुवन कार्कीले २५ रन, दिपक वोहराले १६ रन, अविशेक पालले १२ रन र आयूस्मान बलमे ११ रन बनाउँनुबाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।
आर्मीका दुगेश गुप्ताले ३ विकेट लिँदा विशाल सुस्लिङ र नरेन राउदले २–२ विकेट लिए । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबारदेखि एमएम कप क्रिकेट प्रतियोगिता शूरु भएको हो । वैशाख २० गतेसम्म सञ्चालन हुने प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइएको हो । प्रतियोगितामा सहभागी ६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ भने दुवै टोलीका शीर्ष टोलीले फाइनल खेल खेल्ने छन् । यसअघिका दुई संस्करण सुनसरीको इनरुवामा गरिएको थियो । २०७५ सालमा भएको पहिलो संस्करणको उपाधि आर्मीले जित्दा २०७६ सालमा भएको दोस्रो संस्करणमा पनि आर्मीलेनै बाजी मारेको थियो ।
आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले नेपाली क्रिकेटको विकास र स्तरोन्नतिका लागि नेपालमा कमै मात्रामा हुने ५० ओभरको प्रतियोगिता गरिएको बताए । प्रतियोगितामा भारतको असाम क्रिकेट टिम, घरेलु टिम कोशी प्रदेश, बागमती प्रदेश, विभागीय टोली नेपाल पुलिस क्लब, आर्मी क्लब र सशस्त्र प्रहरी क्लब सहभागी हुने अध्यक्ष घोषले जानकारी दिए ।
एक करोड लागतमा आयोजना भइरहेको प्रतियोगिता विजेतालाई नगद ४ लाख र ट्रफी, उपविजेतालाई २ लाख र ट्रफी, प्लेयर अफ द टुर्नामेन्टको उपाधी जित्ने खेलाडीलाई २५ हजार, उत्कृष्ट ब्याटर र बलरलाई १५–१५ हजार र प्लेयर अफ द म्याचको उपाधी जित्ने खेलाडीलाई नगद ४ हजार प्रदान गरिने अध्यक्ष घोषले जानकारी दिए । यस अघि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एम्पायर बुद्धिबहादुर प्रधानलाई क्रिकेट बल दिएर प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगिता अन्तर्गत आज एपिएफ र बागमती प्रदेशविच खेल हुने आयोजकले जनाएको छ ।