ADD FOR WEBSIDE ADD FOR WEBSIDE

फिफा फुटबल फर स्कुल कार्यक्रम सञ्चालनको तयारी

बिहीबार, असार १३, २०८१

काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नेपालमा फिफा फुटबल फर स्कुल कार्यक्रम सञ्चालन गर्न प्रस्ताव गरेको छ । 


युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठसँग  फिफा कन्सल्ट्यान्ट माझहर अहमदले बिहीवार भेट गर्दै उक्त कार्यक्रम नेपालमा पनि सञ्चालन गर्न फिफा इच्छुक रहेको बताएका हुन् । भेटका क्रममा उनले फिफाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत युनेस्कोसँगको सहकार्यमा सय भन्दा बढी देशमा फिफा फुटबल फर स्कुल कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराउँदै नेपालमा पनि ग्रासरुटबाट फुटबल विकासको उदेश्यसहित कार्यक्रम सञ्चालन गर्न चाहेको बताएका हुन् । 


यस विषयमा सकारात्मक छलफल भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । यसै कार्यक्रम अन्तर्गत फिफाले प्रशिक्षकलाई प्रशिक्षण गर्ने र ३२ देखि ३६ हजार थान फुटबल उपलब्ध गराउने सहमति बनेको मन्त्री श्रेष्ठको सचिवालय सदस्य प्रदीप ज्ञवालीले स्पोर्टस् हबलाई जानकारी दिए ।
“यो कार्यक्रमको लागि उहाँहरुले प्रस्ताव गर्नुभएको हो । हामी त्यसमा सकारात्मक छौं, र त्यसलाई मन्त्रालयबाट गर्ने सहकार्यको लागि हामी तयार छौं ।” उनले भने, “फिफाका अध्यक्ष पनि नेपाल आउन खोज्नुभएको छ । उहाँलाई ल्याउने विषयमा पनि आज कुराकानी भएको छ ।”
 अन्तराष्ट्रिय फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनो नेपाल आउन इच्छुक रहेको जानकारी दिँदै ज्ञवालीले स्पष्ट पारे, “हामीले रिभाईभ फुटबल कार्यक्रम अन्र्तगत नै फिफाले कार्यक्रम नेपाल ल्याउन लागेको हो । त्यसै अन्तर्गत ३० देखि ३६ हजार बल उपलब्ध गराउने भएको छ । ”
यो कार्यक्रम नेपालमा आगामी अक्टोबर/नोभेम्बरमा सुरुवात गर्ने योजना अखिल नेपाल फुटबल संघ एन्फाले बनाएको छ । 
मन्त्रायलले पनि रिभाईभ फुटबल अर्थात् फुटबललाई पुर्नजीवित गनेृ कार्यक्रमलाई जोड दिने योजना बनाइरहँदा फिफाको यो कार्यक्रम सहयोगी हुने मन्त्री श्रेष्ठले बताएका छन् । 
यस कार्यक्रमका लागि मन्त्रालयले सक्दो सहयोग गर्ने र कार्यक्रम सफल बनाउन लागिपर्ने दाबी मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।
भेटमा मन्त्रालयका महाशाखा प्रमुख रुद्रप्रसाद अधिकारी र एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको पनि उपस्थिति थियो।


 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १८:२६
प्रतिक्रिया दिनुहोस्