सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
विराटनगर:विराटनगरमा जारी ५ औँ इक्वालिटी कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि विराटनगर हब र राजविराज हब भिड्ने भएका छन्। शनिबार भएका आ-आफ्ना खेलमा जित निकाल्दै यी दुई टोलीले लगातार दुई जितका साथ फाइनलमा स्थान पक्का गरेका हुन्।
शनिबारको पहिलो खेलमा विराटनगर हबले सिरहालाई ८ विकेटले पराजित गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको सिरहाले १६.४ ओभरमा ६३ रन मात्र बनाउन सक्यो। सिरहालाई सस्तैमा समेट्न विराटनगरकी कप्तान सानु राजवंशीले ३ विकेट लिइन्। ६४ रनको सामान्य लक्ष्य विराटनगरले १०.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो। कप्तान सानु राजवंशीले ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै अविजित ३५ रन जोडेपछि उनी प्लेयर अफ द म्याच घोषित भइन्।
दोस्रो खेलमा राजविराज हबले आयोजक नेपाल क्रिकेट फाउन्डेसन (NCF-11) लाई ११९ रनको विशाल अन्तरले पाखा लगायो। पहिले ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५० रनको विशाल स्कोर खडा गरेको थियो। राजविराजकी कप्तान साक्षी यादवले ६३ बलमा ५ चौका प्रहार गर्दै ७२ रनको अविजित इनिङ खेलिन्, जुन यस प्रतियोगिताकै पहिलो अर्धशतक हो। १५१ रनको लक्ष्य पछ्याएको आयोजक टोली १९.२ ओभरमा मात्र ३१ रनमा अलआउट भयो। राजविराजकी सचिता यादवले २ विकेट लिइन्।
लगातार दुई हारसँगै सिरहा र आयोजक एनसीएफ प्रतियोगिताबाट बाहिरिएका छन्।